मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : उपप्रधानमन्त्री निधि

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : उपप्रधानमन्त्री निधि


चितवन । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने– संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ । 
 
संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भने ‘प्रस्ताव पारित हुन्छ । नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायतका विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको हो ।’ 
 
प्रस्ताव संसद्मा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित गराइने उनले स्पष्ट पारे । संशोधन प्रस्ताव राष्ट्रघाती छ भन्ने आरोपको खण्डन गर्दै  मन्त्री निधिले भने– ‘केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले प्रस्ताव गर्दा राष्ट्रघाती हुने ?’ यो एमालेको राजनीतिक बेइमानी छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुङ्गो लगाइएको उनले बताए । 
 
उपप्रधानमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्न दिनुपर्नेमा जोड दिदैं ‘संविधान संशोधन प्रक्रिया छिटो अगाडि बढोस् भन्ने हामी चाहन्छौँ’ भने । ‘एमालेले संसद् अवरोध हटाएर संसदीय प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ’ उनले भने– पुरानै इलाकाको आधारमा वा पुरानै गाविसलाई गाउँपालिकामा रुपान्तरण गरेर स्थानीय निकायको चुनावमा जाने तयारीमा सरकार रहेको छ । उपप्रधानमन्त्री निधिले ‘स्थानीय निकायको चुनाव चैतभित्रै गर्ने तयारीमा सरकार जुटेको छ भने ।’ 
 
त्यस्तै नेपाली काँग्रेस भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएर स्थानीय निकायको निर्वाचन प्रक्रियामा जाने हुँदा त्यसका लागि तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘स्थानीय तहमा काँग्रेसको जित हुनुपर्छ, त्यसका लागि जिल्लादेखि गाउँ तहसम्म तपाईहरु केन्द्रित हुुनुहोस् ।’