पर्सा । सभामुख ओनसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या समाधान हुने बताएका छन् ।
वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को सोमबार समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गरे ।
उनले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताए ।
पतञ्जलीले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको सभामुख घर्ती मगरको भनाइ थियो ।
उनले पतञ्जली योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए ।
स्वामी रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गरे । स्वस्थ्य शरीरमा नै स्वस्थ्य सोचले बास गर्ने र स्वस्थ्य सोचले नै मानवता र समाजलाई भलो गर्न सकिने सभामुख घर्तीमगरले बताइन् ।
विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोलाई सम्बोधन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गरे ।
उनले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताए ।
शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिएका थिए । सो क्रममा सभामुख घर्तीमगरले समेत योगाभ्यासमा सहभागिता जनाएका थिए ।
प्रतिक्रिया