मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू


चितवन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान–२०१६ शुक्रबारबाट सुरू भएको छ । 
 
जिल्ला महिला समन्वय समिति, जिल्ला विकास समितिद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले यस अभियानबाट लैङ्गिक हिंसा कम हुने विश्वास व्यक्त गरे । 
 
आफ्नै घरभित्र पनि श्रीमान्–श्रीमतीबीच अथवा अन्य परिवारका सदस्यहरुबीच हुँदै आएको हिंसालाई यस कार्यक्रमले न्यूनीकरण गर्नमा ठूलो मद्दत पुग्ने उनले बताए । 
 
चितवन जिल्लाबाट सरुवा भएर रुपन्देही जान लागेका प्रजिअ सिंहले आफ्नो कार्यकालभर चितवन जिल्लावासीको माया, ममता र सहयोगका कारण काम गर्न निकै सहज भएको बताए । 
 
यस्तै स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले यो अभियानका लागि महिला पुरुष दुवैको समान सहभागिता आवश्यक रहेको बताए । लिङ्गको आधारमा महिला पुरुष दुवै पक्ष हिंसामा पर्ने गरेकोले यसको विरुद्धमा महिला र पुरुष एक्लै एक्लैले गर्छु भनेर सफल हुन नसक्ने उनले बताए । साथै समय–समयमा महिलाहिंसा विरुद्धका कार्यक्रमहरु आयोजना गरेरमात्रै हिंसा न्यूनीकरण गर्न नसक्ने उनको भनाइ छ । 
 
‘यस्तो कार्यक्रम गर्दैमा हत्या, हिंसाजस्ता घटना कम हुने होइन’, उनले भने, ‘ लैङ्गिक हिंसा न्यूनीकरणका लागि हिंसा किन र के कारणले भइरहेको छ भनेर खोजी गर्नु आवश्यक छ ।’ यसका साथै कार्यक्रमको प्रभावकारिताबारे मूल्याङ्कन गर्न पनि जरुरी रहेको उनले बताए ।
 
नोभेम्बर २५ तारिखमा महिला अधिकार दिवसका दिनदेखि सुरू भई डिसेम्बर १० अर्थात् मानवअधिकार दिवसको दिन सकिने १६ दिने अभियानको हरेक दिन विभिन्न कार्यक्रमहरु आयोजना गरिने जिल्ला महिला समन्वय समिति चितवनकी उपाध्यक्ष सुशीला उप्रेतीले बताइन् । 
 
‘१६ दिनसम्म विभिन्न ४७ वटा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्छौं,’ उनले भनिन्, ‘जसबाट समाजमा हुने हिंसा कम हुने विश्वास लिएका छौँ ।’
 
यसअघि महिलाहिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न नारासहितको ¥यालीसमेत निकालिएको थियो । भरतपुरको वीरेन्द्र क्याम्पस गेटबाट निस्केको बृहत् ¥याली चौबीसकोठी, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला विकास समितिमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।