मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘हिंसा लुकाएर होइन, फुकाएर समाधान गर्नुपर्छ’

‘हिंसा लुकाएर होइन, फुकाएर समाधान गर्नुपर्छ’


गैंडाकोट । नेपाली महिलाहरु आफू घरेलु हिंसामा परे पनि समाजमा खुल्न नसक्दा हिंसाबाट पीडित बन्नु परेको महिला अगुवाहरुले बताएका छन् । 
महिला हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत मंगलबार गैंडाकोटमा भएको घरेलु हिंसा र यसको विश्लेषण विषयक कार्यशाला गोष्ठीमा उनीहरुले यस्तो बताएका हुन् । नेपालका महिलाहरु विभिन्न हिंसाबाट पीडित भए पनि सबैभन्दा बढी घरेलु हिंसाको शिकार बन्न पुगेको उनीहरुको भनाइ छ । 
 
‘महिलाहरुका लागि सबैभन्दा सुरक्षित स्थान भनेकै आफ्नो घर हो,’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकी डिन शारदा थपलियाले भनिन्, ‘ त्यही घरबाट हिंसामा पर्दा पनि बाहिर खुल्न नसक्नु हामी महिलाहरुकै कमजोरी हो ।’
 
महिला हिंसासम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गरिए पनि कार्यान्वयनमा आउन नसक्दा अझै पनि महिलाहरु हिंसाबाट पीडित बन्नु परेको प्रभात दिदीबहिनी सहकारीकी सदस्य कमला सापकोटाले बताइन् । ‘आफ्नै घरभित्रको समस्यालाई बाहिर ल्याउन हिच्किचाउँछन्,’ उनले भनिन्, ‘त्यसैले पनि हिंसाका घटना कम हुन नसकेको हो ।’ 
 
घरमा परिवारबाट सामान्य विषयमा पनि तनाव दिइरहँदा सहेर बस्नु महिलाहरुको कमजोरी भएको उनले बताइन् । परिवार र आफ्नै बेइज्यत हुने डरले गर्दा सहेर बस्ने प्रवृत्तिले पनि हिंसाका घटनाले प्रश्रय पाइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यस्ता समस्या छन् भने बाहिर ल्याएर प्रचार–प्रसार गर्नु आवश्यक छ ।’
 
प्रभात दिदीबहिनी सहकारीकी अध्यक्ष सरस्वती कतिलाले भनिन्, ‘कुनै दिवस वा सभा गोष्ठी हुँदा हिंसाका विषयमा ठूलाठूला कुरा गरिरहे पनि आफैं हिंसामा परेको कुरा खोल्न नसक्ने महिलाहरु हामै्र समाजमा छन् ।’ अहिलेसम्म ३३ प्रतिशत छुट भनेर राज्यले भने पनि पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा अझै पनि महिलाहरु समस्यामा परेका उनले बताइन् । 
 
सोही संस्थाकी लेखा समिति सदस्य बिनिता भट्टराई भन्छिन्, ‘आफ्नै घरभित्र व्यापक हिंसा भइरहेका छन् । तर, बाहिर कसले ल्याउने ?’ महिला हिंसासम्बन्धि समस्या नेपालमा मात्रै नभइ विश्वव्यापीरुपमै समस्याको जड बनेको उनले बताइन् ।
 
विश्वमै महिलाहरुलाई हेप्ने र तल पार्ने प्रवृत्ति रहेछ उनले भनिन्, ‘कतिपय कुराहरु सामान्य लागे पनि त्यही सामान्य कुराबाट हिंसाका घटना बढ्दै जान्छ ।’ हरेक हिंसा पुरूषहरुबाट मात्रै नभई आफ्नै अज्ञानताका कारणले पनि हुने गरेकोले यसको अन्त्यका लागि महिला आफैं शिक्षित र सक्षम बन्न अनिवार्य आवश्यक भएको उनले बताइन् । उनले भनिन्, ‘समस्या लुकाएर होइन, फुकाएर समाधान गर्नुपर्छ ।’
 
यस्तै सोही संस्थाकी सल्लाहकार शान्ति अधिकारीले पनि महिला हिंसा तथा घरेलु हिंसा कम गर्नका लागि आफ्नै बालबच्चालाई यस विषयमा सचेत गराउनु आवश्यक रहेको बताइन् । ‘अर्कालाई दोष दिएर मात्रै हुँदैन,’ उनले भनिन्, ‘यसको सुरूवात आफैंबाट गर्नुपर्छ ।’ आफ्नै घरमा छोरा–छोरीलाई समान व्यवहार गरे हिंसाका घटना स्वतः कम हुँदै जाने उनको बुझाइ छ । 
 
तर, महिला हिंसा सम्बन्धी कार्यक्रम हुँदा अरुको उदाहरण दिएर चर्काचर्का कुरा गरे पनि उनी स्वयम् हिंसामा परिरहँदा बाहिर भन्न नसक्ने महिलाहरु पनि यही समाजमा छन् । उनीहरु आफू हिंसामा परेको कुरा आफैं लुकाउँछन् ।
 
त्यसैले अहिलेसम्म सम्बन्धित विषयमा विभिन्न कार्यक्रमहरु गरिँदै आइए पनि हिंसाका घटनाहरु झन् बढ्दै गइरहेका छन् । नेपालको सांस्कृतिक परिवर्तनले पनि महिला हिंसाका घटनामा कमी नआएको जानकारहरु बताउँछन् । नेपाली संस्कृति परिवर्तनका कारण महिलाहरुको लवाइले गर्दा पनि हिंसाका घटनाहरु कम हुन नसकेको उनीहरु बताउँछन् ।  
 
नारी जागरण केन्द्रकी अध्यक्ष विमला दवाडी भन्छिन्, ‘हरेक वर्ष १६ दिने अभियान भनेर कार्यक्रम गरेर मात्रै हिंसा कम गर्न सकिँदैन । यो त महिला हिंसा कम गर्नुपर्छ है भन्ने सन्देश दिनका लागि आयोजना गरिएको एउटा पुनःताजगी मात्रै हो ।’
 
सबैभन्दा मुख्य कुरा अहिलेसम्म पनि के भएमा हिंसा हुने हो भन्ने सम्मको जानकार पूर्णरुपमा नभएकाले महिलाहरु आफैं हिंसामा परेको हो कि होइन भन्ने विषयमै दोधार भइरहेको उनले बताइन् ।
 
उनी भन्छिन्, ‘हिंसा गर्नु मात्रै अपराध होइन, सहनु पनि अपराध हो ।’ प्रभात दिदीबहिनी सहकारी  भरतपुरले आयोजना गरेको कार्यक्रममा ह्याण्ड ईन ह्याण्ड विमेन्स् एशोशियसन गीफूकी अध्यक्ष तायको कातागिरीले जापानमा हुने महिला हिंसाबारे जानकारी गराएकी थिइन् ।
 
उनले हिंसाबाट कसरी बच्ने भन्ने विषयमा समेत स्थानीय महिलाहरुलाई जानकारी  गराइएको कार्यक्रम संस्थाकी अध्यक्ष सरस्वती कतिला शाहको अध्यक्षतामा भएको थियो । यसवर्ष चितवनमा महिला हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुँदैछ । 

शेयर गर्नुहोस:

0
Shares