मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न प्रधानमन्त्रीको आग्रह

दीक्षित विद्यार्थीलाई सेवामा नमुना प्रस्तुत गर्न प्रधानमन्त्रीको आग्रह


बनेपा । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले दीक्षित विद्यार्थीलाई असल नागरिकको हैसियतले सेवामा नमुना प्रस्तुत गर्न आग्रह गरेका छन् । 
 
विश्वविद्यालयको २२ औँं दीक्षान्त समारोहलाई मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले चिकित्सा क्षेत्र गम्भीर विषय भएकाले लापरबाही गर्नुहुँदैन भने । ‘हाम्रो आस र भरोसा तपाईंहरू नै हो, हामी उमेरको उत्तराद्र्धमा छाँ, त्यसैले तपाईँहरूको काँधमा गहन जिम्मेवारी आएको छ” प्रधानमन्त्रीले भने । 
 
उपाधि प्राप्त गरेपछि दीक्षितका काँधमा समाज र राष्ट्रप्रति जिम्मेवारी बढेको उल्लेख गर्दै उनले जीवन मानव समुदायको कल्याणमा समर्पित गर्न विद्यार्थीलाई आग्रह गरे । 
 
युनिभर्सिटी अफ वेस्टर्न सिड्नी, अस्ट्रेलियाका उपकुलपति तथा प्रिसिडेन्ट प्रा डा बार्ने ग्लोभरले जनशक्ति उपयोग गर्न असीमित चुनौती भएको बताए । विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले आलोचना मात्र गर्ने बिगँ्रदो संस्कारलाई अन्त्य गर्नुपर्ने बताए । 
 
विश्वविद्यालयले चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ३७७ विद्यार्थीलाई दीक्षित गरेको छ । दीक्षितमध्ये चिकित्सा विधामा सबैभन्दा उच्च एमसिएच डिएम उपाधि नौ जना, एमडी एमएस उपाधि १८९ जना, एमबिबिएस उपाधि ९४६, बिडिएस उपाधि १८, बिएस्सी नर्सिङ २०२, बिएनएस उपाधि एक र बिपिटी १२ जनालाई प्रदान गरिएको थियो । 
 
दीक्षितमध्ये भारतका ९३ र श्रीलङ्काका सात जना पनि छन् । उत्तीर्णमध्ये महिला ५२.५१ प्रतिशत छन् । उत्कृष्ट विद्यार्थीका रूपमा स्वर्ण पदक लुम्बिनी मेडिकल कलेजका विद्यार्थी प्रनिता राजभण्डारीलाई प्रदान गरिएको थियो । अहिलेसम्म विश्वविद्यालयबाट चिकित्सा विधामा कुल ११ हजार ४७ जना दीक्षित भएका छन् । रासस