नेपाल

स्वदेशी तथा विदेशी चित्रकारका लागि आकर्षक स्थल घान्द्रुक

स्वदेशी तथा विदेशी चित्रकारका लागि आकर्षक स्थल घान्द्रुक


घान्द्रुक । कास्की जिल्लामा पर्ने घान्द्रुक स्वदेशी तथा विदेशी चित्रकारका लागि बरदान सावित भएको छ । त्यहाँको भौगोलिक बनोटका साथै हिमालको सौन्दर्य तथा मनोरम दृष्य पर्यटकलाई मात्र होइन कलाकारका लागि झन आकर्षणको केन्द्र बनेको हो । 
 
पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा पर्ने सो घान्द्रुक पोखराबाट करिब ७० किलोमिटरको दूरीमा पर्दछ । 
 
जलरङ्गको माध्यमबाट कला सिर्जना गर्ने कलाकारको संस्था अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीको नेपाल च्याप्टरले गएको साता आयोजना गरेको कला कार्यशालामा सहभागी स्वदेशी तथा विदेशी गरी ७० कलाकारले अन्नपूर्ण तथा माछापुच्छ हिमाल, मोदीखोला, अन्नपूर्ण बेस क्याम्पजस्ता प्राकृतिक पर्यटकीय स्थलको अवलोकन गर्दै आ–आफ्ना कौशल देखाएका थिए । 
 
वरिष्ठ कलाकार राजेश मानन्धरले त्यहाँको मनोरम दृष्य नियाल्दै काठमाडौँमा प्रचलनमा रहेको जीवित देवी कुमारीको चित्र बनाए । उनले करिब एक दर्जन चित्र बनाउने क्रममा बनाइएको कुमारीको चित्रले धेरैको मन जित्नुका साथै उत्कृष्ट कला बनेको थियो । 
 
काठमाडौँको महत्वपूर्ण संस्कृतिका रुपमा रहेको कुमारीलाई घान्द्रुकको हावापानीमा सिर्जना गरिएकाले सो चित्रको लोकप्रियता बढेको मानन्धरले बताए । उनले भने– “घान्द्रुकको भूगोल कलाकारका लागि ठूलो अवसर हो ।” 
 
स्वदेशी २५ तथा विदेशी ४५ कलाकार रहेको उक्त कार्यक्रममा त्यहाँको रमाइलो वातावरण देखेर बनाइएका चित्रमा घान्द्रुकको प्रभाव सहजै देख्न सकिन्थ्यो । 
 
हङ्कङबाट आएकी कलाकार केपी म्यागीले नेपालमा धेरै स्थान सौन्दर्यले भरिएको भए पनि घान्द्रुक विशेष आकर्षक स्थल भएको विचार व्यक्त गर्दै अनुकूलता मिले त्यहाँको सौन्दर्यतालाई हेर्न फेरि पनि आउने प्रतिबद्धता व्यक्त गरे । 
 
अन्नपूर्ण हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि पदयात्रा मार्गमा परेपनि पर्यटन क्षेत्रमा घान्द्रुकको महत्व छ । करिब एक लाख आठ हजार ८०९ रोपनी क्षेत्रफलमा फैलिएको घान्दु्रक भौगोलिक हिसाबले कास्की जिल्लाकै सबैभन्दा ठूलो गाविस मानिन्छ । 
 
ललितकला पत्रकार मञ्चका अध्यक्ष केशव खनालले हिमशृङ्खलाको आनन्दका साथ मनमा उर्लेका भावनालाई जसरी कोरे पनि राम्रो चित्र बनाउन उत्प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो । घान्द्रुकमा विशेष गरी गुरुङ, मगर, दमै, कामी, सार्की आदि समुदायको मिश्रित बसोबास रहे पनि जनसङ्ख्याको हिसाबले गुरुङको बहुलता भए पनि गरिब तथा विपन्न वर्गका दलित परिवारका बस्ती पनि देख्न पाइन्छ । 
 
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष एनबी गुरुङले आफ्नो घर पोखरा भएकाले पनि घान्दु्रक धेरैपटक आइसकेको तर विदेशीलाई ल्याउन सके उनीहरु खुसी हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको बताए । 
 
घान्द्रुकको कोडगाउँमा भएको कार्यशाला स्थल आसपासमा देखिने जङ्गलका हरियाली र मनमोहक दृश्य तथा चराचुरुङ्गीका लयबद्ध सङ्गीतले मानिसलाई भावुक र आनन्दित बनाउँछ भन्दै त्यहाँको विभिन्न धरातलमा बनेका प्राचीन बस्तीले आकर्षित भएको सांस्कृतिक संस्थानका गायिका भीमकला गुरुङले प्रतिक्रिया दिए ।