मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक चीन नीतिमा काँग्रेस अडिग

एक चीन नीतिमा काँग्रेस अडिग


काठमाडौँ । नेपाली काँग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेकोे जनाएको छ । 
 
काँग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । 
 
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण काँग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन ।’
 
अनर्गल प्रचारप्रति ध्यानाकर्षण 
सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापामाध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै काँग्रेसले त्यसको निन्दा गरेको छ । सभापति देउवा इन्डिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथिका रुपमा भाग लिन भारतको गोवा गएका थिए ।  
 
‘कार्यक्रमको उद्घाटनसत्र सकिनेबित्तिकै सभापति देउवा कार्यक्रमस्थलबाट बाहिरिनुभएको हो तर यथार्थलाई बिर्सेर केही नेपाली सञ्चारमाध्यमले पटक–पटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रुपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । 
 
उक्त कार्यक्रमको उद्घाटनसत्रको प्रमुख अतिथिका रुपमा सभापति देउवाले सम्बोधन गरेकोे र कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी वक्ताका रुपमा मञ्चमा रहेको विज्ञप्तिमा उल्लेख छ । 
 
कार्यक्रमको तस्बिर नक्कली 
काँग्रेसले नक्कली तस्बिरसहितका समाचार सम्प्रेषण गरेर सभापति देउवालाई बदनाम गर्ने कुत्सित उद्देश्यले दुष्प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कहाँ–कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तक्र्रियासमेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’ 
 
काँग्रेसले सभापति प्रमुख अतिथि रहेको कार्यक्रमको दर्शकदीर्घामा को कहाँ बसेका थिए भन्ने कुनै जानकारी उहाँलाई जानकारी नभएको र त्यो चियोचर्चा गर्ने विषय पनि नभएको विज्ञप्तिमा जनाइएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares