मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो

सुन्तलाका दाना टिप्ने मेसिन पनि बन्यो


पाल्पा । सुन्तलाका दाना टिप्ने समस्या खेप्दै आएका यहाँका किसानले सुन्तलाका दाना टिप्ने मेसिन प्रयोग गर्न थालेका छन् ।
 
सुन्तला टिप्न मेसिनको प्रयोगले अब भुइँबाट नै प्रत्येक सुन्तलाका दाना टिप्न सकिने भएको हो । यस मेसिनको प्रयोगले अब रूखमा चढिरहनुपर्ने झन्झटिलो कामबाट यहाँका किसानलाई राहत मिलेको छ । 
 
चापपानी–८ चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रले सुन्तला टिप्ने मेसिन उत्पादन गरेपछि यस भेगका सयौँ सुन्तला उत्पादन गर्ने किसानलाई ठूलो राहत मिलेको हो । 
 
सुन्तलाको रूखमा चढ्दा भुइँमा लडिने समस्या रहँदै आएकोमा मेसिनको प्रयोगपछि मानिस अझै सुरक्षित हुन थालेको बताउँछन् । पहाडी जिल्ला पाल्पा सुन्तला उत्पादनका लागि नमुना क्षेत्र बन्दै गएको छ । 
 
कृषि औजार निर्माण केन्द्रका सञ्चालक खुमबहादुर विश्वकर्माका अनुसार गोलो आकार भएको मेशिनमा रहेको फलामको भित्री धारिलो भागले सुन्तलाको दाना तान्दा हाँगाबाट काटिएर सुन्तला त्यसको पछाडि रहेको जालीमा अडिने गर्दछ ।
 
सुन्तलाको रूखअनुसार लौरो फिट गरेपछि आफ्नो आवश्यकताअनुसार लामो  तथा छोटो आकार बनाउन सकिने विश्वकर्माको भनाइ छ । सुन्तला उत्पादन गर्ने किसान हरि बस्यालका अनुसार आवश्यकतानुसार लौरो फिट गरेर सुन्तलामा मेसिन अडाएर तान्दा सुन्तला जालीमा सङ्कलन हुने बताए ।
 
यस मेसिनको जिल्लाको खानीगाउँ, यम्घा, चापपानी, दर्लम, छहरालगायत गाविसमा ठूलो मात्रामा माग हुँदै आएको छ । सुन्तला टिप्ने मौसम भएकाले अहिले दैनिक २० थानभन्दा बढी विक्री हुँदै आएको छ । 
 
सुन्तला टिप्ने मेसिनको मूल्य सस्तो भएकाले यो मेसिन प्रयोग गर्नेहरू बढ्दै गएका छन् । स्थानीय बजारमा प्रतिमेसिन तीन सय रुपैयाँमा बिक्री हुँदै आएको सञ्चालक विश्वकर्मा बताउँछन् । रासस