जाजरकोट । दूधे उमेरमा आमाबाबा गुमाएका प्रेम सिंह विद्यालयको पढाइ र घरको काम गर्दागर्दै हात भाँचिएपछि हैरान भएका छन् । ११ वर्षीय प्रेमसँग अहिले उपचार गर्ने पैसा पनि छैन, न त उनीसँग सहयोग गर्ने आमाबाबा नै छन् ।
जाजरकोटको डोल्पा जिल्लासँग सिमाना जोडिएको भगवती गाविस–८ को निकै विकट बस्ती औलगुत्तामा उनी जन्मिएका हुन् । उनी जन्मेको एक वर्ष नबित्दै २०६३ भदौ १० गते उनकी आमा रुपसरी सिंहको पखालाका कारण मृत्यु भयो ।
बाबा तिलक सिंह उपचारकै अभावमा २०६९ माघ १५ गते मृत्यु भएको घाइते बालक प्रेम बताउँछन् । आमाबाबु बितेपछि उनी काका रामबहादुर सिंहसँगै बस्दै आएका छन् । काका रामबहादुरको पनि आर्थिक अवस्था राम्रो छैन ।
बालक प्रेमको बिदाको समयमा आफ्नो जग्गा जोत्दै गर्दा गोरुले हानेर हात भाँचिएको थियो । गत असोज २ गते उनको हात भाँचिए पनि आर्थिक स्रोत नहुँदा अझैसम्म उपचार हुन सकेको छैन ।
सबै साथी अहिले घरनजिकैको श्री भगवती निम्न माध्यमिक विद्यालयमा पढ्न जान्छन् । उनी भने घरको काम पनि गर्न सक्दैनन्, विद्यालय पनि जान नसक्ने अवस्थामा छन् । उनी अहिले कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । ‘विद्यालय गएर लेख्न नसक्ने भएपछि किन विद्यालय जानु ? सबैले हेप्छन्, आमाबाबा छैनन्, कसले तँलाई उपचार गर्छ ? भनेर साथीहरू हेप्छन्’, प्रेमले रुँदै भने ।
‘एकजना भिनाजु हुनुहुन्छ खगेनकोटमा, कहिलेकाहीँ उहाँको घरमा जान्छु र केही पैसा ल्याएर खर्च गर्छु’, प्रेमले भने । ‘जन्मदर्ता नै छैन प्रेमको, कसले गरिदिन्छ र ?’ उनका भिनाजु लक्ष्मण सिंह भन्छन् । उनको हात देखेर हैरान हुन्छ, गाउँका काका, दाजुभाइले कावरी लगाऊ भन्छन्, हात बिग्रेला भनेर लगाउन दिएको छैन, लक्ष्मणले भने ।
‘आमाबाबाको फोटो हेरेरै बिहान, बेलुका रुन्छु, आज राति बाबा सपनामा आएर अस्पताल लानुभएको थियो । पत्रकार दाइ, मलाई सहयोग गर्नुप¥यो, म तपाईंको घरमा नै बसौँला बरु’, उनी भन्छन्, ‘मेरो हात जसरी पनि निको बनाउनु प¥यो ।’ रासस
प्रतिक्रिया