मोरङ । मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट बुधबार राति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।
उर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र पछाडि सवार सोही ठाउँका २६ वर्षीय राजु थापाको मृत्यु भएको हो ।
मोटरसाइकलमा तीनजना सवार थिए । पछाडि सवार इटहरा–२ कै २१ वर्षीय प्रकाश राईको गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि विराटनगर लगिएकोमा दुईजनाको भने उपचारका क्रममा बुधबार राति मृत्यु भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए ।
मिनीबसको ठक्करले तीन घाइते
तनहुँको जामुने–९ धऐरेमा बुधबार बसले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजना घाइते भएका छन् ।
ठक्करबाट घाइते भएका व्यास नगरपालिका–११ की २२ वर्षीया ममता दुलाललाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सोही ठाउँका स्कुटर चालक २५ वर्षीय भीम दुलाल र ममताका छोरा ३ वर्षीय अमन दुलालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४०१८ नंको मिनीबसले विपरीत दिशाबाट जाँदै गरेको ग १ प ८८६६ नंको स्कुटरलाई उक्त ठाउँमा ठक्कर दिएको हो । बस चालकलाई थर्पु प्रहरी चौकीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।
प्रतिक्रिया