मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन


काठमाडौँ । नेकपा(माओवादी–केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ ।
 
संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिएको नेता अग्नि सापकोटाले बैठकपछि पत्रकारलाई जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबारको बैठकले महाअिभयोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।
 
सोहीअनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको आइतबारको बैठकमा अध्यक्ष दाहालले जानकारी दिएका थिए ।
अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता भएको महाअभियोगका पक्षमा एक भएर अघि बढ्न बैठकमा सांसदहरुलाई आग्रह गरेका थिए । 
 
महाभियोग प्रस्तावमाथि कात्तिक ९ गते छलफल 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको  महाभियोग प्रस्तावले आज सदनमा प्रवेश पाएको छ ।
 
नेकपा (माओवादी)का महेन्द्रबहादुर शाहीसहित १५७ सांसदले  प्रमुख दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा यही कात्तिक  ९ गते छलफल हुने छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले  कार्कीविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि यही कात्तिक ९ गते  अपराह्न ३ बजे तोकिएको  जानकारी दिए ।
 
नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख कार्कीलाई पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाइएको छ । रासस

शेयर गर्नुहोस:

0
Shares