चितवन । केही समयअघि एक/दुई वटा जहाज उड्ने चितवनको भरतपुर विमानस्थलबाट अहिले घण्टा–घण्टा जस्तोमा जहाज उडिरहेको छ । भरतपुरबाट दिनमै १२ वटासम्म उडान भएको छ ।
भरतपुर विमानस्थलका कर्मचारीहरुका अनुसार केही दिन अघिमात्रै बुद्ध एयरले ८ वटा र यति एयरले ४ वटा उडान एकैदिन भरेका थिए । यो हालसम्मकै उच्च उडान संख्या भएको विमानस्थलका कर्मचारीहरु बताउँछन् । यतिबेला मध्यमवर्गीय अवस्थाका व्यक्तिहरुका लागि पनि जहाज रोजाइमा परेको छ ।
नारायणगढ–मुग्लिन सडकमा लगातारजसो भइरहेका दुर्घटना र सडक विस्तारको क्रममा हुन घण्टौ जामका कारण जहाज मध्यमवर्गका मानिसहरुको पनि रोजाइमा परेको हो । दसैँको मुखमा भएको जहाजको लगातारको उडानले विमानस्थलका कर्मचारी र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई भ्याईनभ्याई छ ।
‘यसअद्दिकना दसैँमा यस्तो चाप भएको थिएन, अहिले नारायणगढ–मुग्लिन सडक खण्डको बिग्रेको र घण्टौ जाम हुने डरले पनि जहाजमा यात्रुको चाप बढको हो’ विमानस्थलका कर्मचारीले भने ।
बुद्ध एयर भरतपुरका भक्त बस्नेतले जहाजको टिकटका लागि फोन उठाउँदैमा हैरानी भएको बताए । ‘छिनछिनमा फोन आउँछ, टिकट छ की छैन भन्छन, उनले भने, ‘दसैंको टीका र पछिका दिनका लागि पनि अग्रिम बुकिङ भइरहेको छ । टिकट नपाइएला भन्ने डरले एक हप्ता अघिदेखि नै यात्रुले बुकिङ गरेका छन् ।’
कुनै समय खाली देखिने भरतपुर विमानस्थल टर्मिनलका कुर्सीहरु अहिले भरिभराउ नै छन् । विमानस्थलमा काम गर्ने कर्मचारी र प्रहरीहरु पनि बिहानैदेखि बेलुकासम्म व्यस्त नै हुन्छन् ।
सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा ६ गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य छन् । चाडबाडको समयमा अन्य स्थानमा पनि उत्तिकै संख्यामा जहाज उड्ने भएकाले भरतपुरमा जहाज थप्न असहज भएको सम्बन्धित एयरलाइन्सका कर्मचारीहरु बताउँछन् ।
‘यात्रुको चाप बढेपछि अहिले दैनिक ५ वटा उडान ४७ सिटका एटीआर जहाजले मात्र गर्दै आएका छन्’ बुद्ध एयरका भरतपुर प्रमुख श्रेष्ठले भने, ‘टिकट उपलब्ध गराइदिन अनुनय विनय गर्छन् तर बुकिङ भइसकेकाले हामीले धेरै यात्रुको लागि सेवा दिन असमर्थ भएका छौं’ उनले भने ।
‘सडक मार्गबाट जाँदा पहिरोको कारण यात्रा असहज हुने भएकाले जहाज चढ्नेको संख्या ह्वात्तै बढेको हो’ भरतपुर विमानस्थलका प्रमुख शिवप्रसाद उपाध्यायले बताए । पछिल्लो समय हवाइ यात्रुको संख्या बढेपछि उडान संख्या र ठूला जहाज थपिएको उनले बताए ।
‘उडान संख्या बढ्नुका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको छ’ विमानस्थल प्रमुख उपाध्यायले भने ।
प्रतिक्रिया