नेपाल

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ : अध्यक्ष ओली

देश बनाउन प्रचार होइन परिवर्तनमुखी हुनुपर्छ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन प्रचारमुखी नभई परिवर्तनमुखी हुनुपर्ने बताएका छन् । 
 
चाइल्ड नेपाल संस्थाको राष्ट्रिय बालअधिकार सम्मान, १२ औंँ साधारणसभा तथा सामाजिक लेखा परीक्षणको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुक बनाउन हरेक ठाउँ र क्षेत्रबाट सबैले हातमा हात मिलाउनुपर्नेमा जोड दिँदै प्रचारमुखीभन्दा परिवर्तनमुखी भएर काम गर्न आह्वान गरेका हुन् । 
 
बाल अधिकारको संरक्षणका लागि सरकारको मात्र नभई संस्थागत र व्यक्तिगतबाट योगदान हुनुपर्ने पनि उनले बताए । 
 
कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय बालअधिकार सम्मान प्रारम्भिक बाल विकासका अभियानकर्ता अगाथा थापालाई प्रदान गरे । थापाले सेतो गुराँस बाल विकास संस्थाका माध्यममा यस क्षेत्रमा दिएको योगदानको कदर गर्दै दिइएको सम्मानका साथ रु २५ हजार राशि रहेको छ । 
 
नेकपा (एमाले) का सांसद रामेश्वर फुयाँलले संसदमा रहेर प्रारम्भिक बाल विकासका पक्षमा विगतमा पनि आफूहरुले काम गरेको बताउँदै संविधानको मौलिक हकमा व्यवस्था गरिएको बालअधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले चाइल्ड नेपालले बालबालिकाका लागि सञ्चालन गर्ने ‘माया हाम्रो अधिकार’ अभियानको शुभारम्भ गरेका थिए ।  
 
मानवअधिकारवादी गौरी प्रधानले नेपालको बालअधिकार आन्दोलन विश्वमा बालअधिकार महासन्धि लागू हुनुभन्दा अघिको भएको बताउँदै प्राथमिक तहमा विद्यार्थी भर्ना दर बढे पनि कक्षा १० सम्म पुग्दा ५० प्रतिशत बालबालिका पनि विद्यालयमा टिक्न नसक्नु विडम्बना भएको बताए । 
 
बाल अधिकार र बालबालिका शान्ति क्षेत्र संरक्षणका लागि संस्थाले १२ वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक अनुगमन, पैरवी, क्षमता वृद्धि, विद्यालयमा सहयोगजस्ता गतिविधि सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष कुष्ण सुवेदीले जानकारी दिए । रासस