मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजी जारी, सफलता नमिलेपछि गोताखोर फर्कियो

बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजी जारी, सफलता नमिलेपछि गोताखोर फर्कियो


चितवन । त्रिशूली नदीमा असोज–९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ । 
 
सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो । पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किनु परेको हो । 
 
कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । 
 
उनका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उनले बताए । 
 
सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ । 
 
यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो । सशस्त्र प्रहरीको कुरिनटारमा रहेका १२ जनाको विशेष टोली दिनहुँ खोजीकार्यमा जुटिरहेको छ । नेपाली सेनाको गोताखोरले पनि खोजीकार्यलाई जारीे राखे पनि उपलब्धि हासिल गर्न सकेको छैन । 
 
प्रहरी उपरीक्षक थापाका अनुसार कति गहिराइमा के वस्तु छ र पानीको तापक्रम कति छ भन्ने मापन गर्ने सोनार, पानीभित्र हेर्न मिल्ने क्यामरा, वस्तु तान्न मिल्ने ¥याकर, हुकिङ स्टिमलगायतका उपकरण प्रयोग गरी खोजीकार्य जारी राखिएको छ । 
 
सशस्त्र प्रहरीले दुर्घटनास्थलदेखि नवलपरासीको सुस्तासम्म ठाउँठाउँमा फरक/फरक समूह बनाइ खोजीकार्य जारी राखेको उनले बताए । सुस्ता, त्रिवेणी, बेल्डिया, नारायणी नदीको पुल, देवघाट, घुमाउने, जलबीरे, मुग्लिन र दुर्घटनास्थल नजिकका सशस्त्र प्रहरीका युनिटमार्फत खोजीकार्य जारी रहेको उनले बताए । 
 
नेपाल प्रहरीले पनि आफ्ना इकाईमार्फत नदीका ठाउँठाउँमा खोजी जारी राखेको छ । नेपाली सेना पनि आफ्नै किसिमबाट खोजी कार्यमा जुटिरहेको छ । 
 
यसैबीच, केही दिनअघि घिमिरे चढेको गाडी हुनसक्ने भनी गरिएको खोजी कार्यमा यसअघि खसेको  ट्रकका केही सामान फेला परेका छन् । प्रहरी उपरीक्षक थापाले सो ठाउँमा सानो गाडी नभएको प्रष्ट भएको बताए । उनले ट्रकको साइलेन्सर पाइप, ट्रकका विभिन्न भागका केही अंश मात्र भेटिएको बताए ।