मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल जर्नीले नेपालमा निकै महत्वपूर्ण काम गरेको छ : एनआरएनए अध्यक्ष घले

नेपाल जर्नीले नेपालमा निकै महत्वपूर्ण काम गरेको छ : एनआरएनए अध्यक्ष घले


चितवन । नेपाल जर्नी अमेरिकाको आर्थिक सहयोगमा रामेश्वर पुस्तकालय भरतपुर–२ क्षेत्रपुर चितवनमा रामेश्वर विद्युतीय पुस्तकालय स्थापना भएको छ । 
 
पुस्तकालयको गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष एवं नेपाल सरकारका सदभावना दूत डा शेष घलेले उद्घाटन गरे ।  नेपाल जर्नीको तीन लाख १८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोगमा १० वटा कम्प्युटरसहितको सुविधासम्पन्न पुस्तकालय स्थापना गरिएको हो । 
 
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै घलेले सहकार्य र सहभावनाबाटै समाजको विकास हुने बताए । सबैजना मिलेर संगठित हुँदै समाजको विकासमा लाग्न सकेमा समाजको उन्नति हुन समय नलाग्ने घलेको भनाइ थियो ।
 
नेपाल जर्नीले नेपालमा निकै महत्वपूर्ण काम गरेको बताउँदै घलेले यस्ता सामाजिक काममा विदेशमा रहेका प्रत्येक नेपालीले मन दिनु पर्नेमा जोड दिए । देशको विकासका लागि तल्लो तहबाट विकास आवश्यक रहेको भन्दै उनले हरेक नेपाली नागरिक सकारात्मक सोचका साथ समाजका लागि केही गर्छु भन्ने भावना संगाल्नु आवश्यक रहेको उनको तर्क छ । 
 
नेपाल जर्नी अमेरिकामा स्थापना भएर पनि त्यहाँको व्यस्त जीवन छिचोल्दै अध्यक्ष मौसमी श्रेष्ठसहितका पदाधिकारीले नेपालको लागि गरेको योगदान महत्वपूर्ण भएको भन्दै उनले खुसी प्रकट गरे । 
 
आफूले र आफ्नो संस्थाले नेपाल जर्नीको हितका लागि सधैँ साथ दिन तयार रहेको उनको भनाइ थियो । त्यस्तै उनले दाताको सहयोगमा स्थापना भएको लाईब्रेरीको उचित प्रयोग गर्न आग्रह गरे । आईटीको युगमा हर क्षेत्रमा क्षमतावान र दक्ष बनाउन ई लाईब्रेरीले मद्धत पुग्ने उनले बताए । 
 
नेपाल जर्नीको सहयोगमा ई लाईब्रेरी स्थापना हुँदा खुसी लागेको भन्दै   अध्यक्ष घलेले रामेश्वर पुस्तकालयको स्तरोन्नतिको लागि दुई लाख रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन् । 
 
पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष केशव श्रेष्ठ, सल्लाहकार केदारनाथ खनाल, उपाध्यक्ष सशी श्रेष्ठ, नेपाल लाईब्रेरी फाउण्डेसन नेपालका कार्यक्रम संयोजक धनकुमार श्रेष्ठ,  जुनियर अधिकृत प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक रणबहादुर चन्द, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य एवं पब्लिक लाईब्रेरी प्रोजेक्टका उपसंयोजक सोम सापकोटा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले मन्तव्य राखेका थिए ।
 
नेपाल जर्नी अमेरिकाको आर्थिक सहयोग नेपाल लाईब्रेरी फाउण्डेसनको प्राविधिक व्यवस्थापन र रामेश्वर पुस्तकालयले पुस्तकालय व्यवस्थापन गर्ने गरी त्रिपक्षीय सम्झौताका आधारमा पुस्तकालय सञ्चालनमा आएको नेपाल लाईब्रेरी फाउण्डेसन नेपालका कार्यक्रम संयोजक धनकुमार श्रेष्ठले बताए । 
 
लाईब्रेरी सञ्चालनका लागि नेपाल लाईब्रेरी फाउण्डेसनले तालिमसमेत दिने र अन्य प्राविधिक सहयोग पनि गर्ने सोम सापकोटाले बताए । लाईब्रेरी फाउण्डेसनले प्राविधिक सहयोगअन्तर्गत निशुल्क ई लाईब्रेरी सफ्टवेयर जडान गरेको उनको भनाइ छ । 
 
नेपाल जर्नीले विद्युतीय पुस्तकालय स्थापना गरिदिएपछि सूचना प्रविधिको युगमा प्रविधिअनुरुप चल्न आफूहरुलाई ठूलो टेवा पुगेको भन्दै पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले खुसी प्रकट गरे ।