चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले दसैँअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताए । उनले भने ‘नेकपा एमालेसँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।’
मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । उनले संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको बताए ।
इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उनको भनाइ थियो ।
चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उनले बताए । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
टीकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उनले बताए । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उनले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको उल्लेख गरे ।
प्रशासनको नवनिर्मित भवनको उद्घाटन
प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमति जुटाएर संविधान कार्यान्वयनको पक्षमा सरकार दृढ सङ्कल्पका साथ अगाडि बढ्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले वर्तमान सरकारको मुख्य जिम्मेवारी नै संविधान कार्यान्वयन गर्नु रहेको बताए ।
प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका क्रममा राष्ट्रिय सहमति गरेर चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन र ०७४ माघसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गर्ने बताए ।
प्रतिक्रिया