मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृष्ण अधिकारी हत्या प्रकरण : लिखित बहस नोट पेस गर्न चितवन अदालतको आदेश

कृष्ण अधिकारी हत्या प्रकरण : लिखित बहस नोट पेस गर्न चितवन अदालतको आदेश


गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगको बहसपछि जिल्ला अदालत चितवनले लिखित बहस नोट पेस गर्न आदेश दिएको छ । 
 
जिल्ला न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले दुवै पक्षका अधिवक्ताबाट लिखित बहस नोट पेस गर्न लगाई बहस गर्ने कानुन व्यवसायीलाई सम्बन्धित पक्षमार्फत नै जानकारी गराउन आदेश गरिएको हो । २०७३ साल कात्तिक ५ गते अगावै अदालतमा प्रतिवादीले आ–आफ्ना कानुन व्यवसायीले तयार पारेको लिखित बहस अदालतमा पेस गर्नुपर्ने भएको छ । 
 
सो नोट पेस गरेपछि मुद्दाको अन्तिम सुनुवाइका लागि अर्काे पेशी तारिख तोकिने जिल्ला अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालले बताए । गम्भीर प्रकृतिका मुद्दामा मात्रै लिखित नोट पेस गर्न लगाउने प्रचलन रहेको छ । तीन दिनदेखि सो मुद्धामा अदालतमा बहस चलेको छ । 
 
यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गर्नुभएको थियो । यही असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गरेका थिए । 
 
सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ जेठ २४ गते हत्या गरिएको थियो । सोपश्चात् कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
 
जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारिखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रुद्र आचार्य बेलायतमा लुकेर रहेको बताइँदै आएको छ भने विष्णु तिवारी पनि फरार छन् । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेलसमेत फरार छन् ।
 
अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र शुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव)लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटी राखेर तारिखमा छोडेको छ । त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राखी तारिखमा छाडेको छ  ।