मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय निकाय पुनःसंरचनामा विवाद कायमै

स्थानीय निकाय पुनःसंरचनामा विवाद कायमै


ललितपुर । दलहरुबीच स्थानीय तह पुनःसंरचनाका बिषयलाई लिएर रहेका विवाद अझै टुङ्गिन सकेको छैन । 
 
जिल्ला विकास समिति ललितपुरले स्थानीय तह पुनःसंरचनाको प्रस्तावित खाका गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगमा पठाउँदा समेत राजनीतिक दलहरु एकमत हुन सकेका छैन् । 
 
घुसेल र देविचउर गाविसका विषयमा दलले फरक÷फरक धारणा राखेका छन् । नेपाली काँग्रेसले यी गाविसलाई प्रस्तावित खानीखोला÷वाग्मती गाउँपालिकामा राख्नुपर्ने अडान लिएको छ भने नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र)ले यी गाविसलाई प्रस्तावित बज्रविनायक नगरपालिकामा नै राख्दा जनतालाई सुविधा हुने अडान लिँदै आएका छन् । 
 
दलहरुबीच जिल्लामा कति वटा स्थानीय तह बनाउने भन्ने विषयमा समेत लामो समयदेखि विवाद रहँदै आएको छ । 
 
सुरुमा नौ तह बनाउने प्रस्ताव आयोगमा पठाइएको जिविसका सूचना अधिकृत अनिरुद्ध महर्जनले बताए । आयोगले छ वटा स्थानीय तह निर्धारण गर्न भन्दै उक्त प्रतिवेदन फर्काएपछि अहिले छ तह प्रस्ताव गरेर आयोगमा पठाइएको छ, उनले भने, ‘अन्तिम दिनसम्म पनि छुटेका दुई गाविस कता राख्ने टुङ्गो नभएपछि थाँती राखेर आयोगमा प्रतिवेदन पठाइएका हौं ।’
 
प्रस्तावित छ तहमध्ये जिल्लामा तीन गाउँपालिका र तीन नगरपालिका रहने छन् । तीन गाउँपालिकामध्ये दुई वटामा छ÷छ र एउटामा पाँच वटा गाविस रहने प्रस्ताव गरिएको छ । वाग्मतीका किनारामा पर्ने गाविस समेटेर खानीखोला÷वाग्मती गाउँपालिकाको प्रस्ताव गरिएको  छ । साविकका प्युटार, आश्राङ, गिम्दी, माल्टा, भट्टेडाँडा र इकुडोल गाविस रहने यो गाउँपालिकाको केन्द्र भट्टेडाँडा ‘रोप–वे’ भवन क्षेत्रमा राखिने निर्णय भएको जनाएको छ । 
 
दक्षिण पूर्वमा पर्ने साविक छ गाविस समेटेर बन्न लागेको महाङ्काल गाउँपालिकाको केन्द्र गोटिखेल प्रस्ताव गरिएको छ । गोटिखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर र ठूला दुर्लुङ गाविस महाङ्काल गाउँपालिकामा राख्ने प्रस्ताव गरिएको छ । 
 
त्यस्तै, तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा पाँच गाविस रहेका छन् । कोन्जेसोमको केन्द्र चौघरेको कामले चौर प्रस्ताव गरिएको छ । यस गाउँपलिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस पर्छन् । 
 
नयाँ चार नगरपालिकालाई समायोजन गरेर दुई वटा बनाउन प्रस्ताव गरिएको छ । हालको बज्रवारही र कार्यविनायक नगरपालिकालाई समायोजन गरेर बज्रविनायक नगरपालिका प्रस्ताव गएिको छ । १४ वटा वडा रहने उक्त नगरपालिकाको केन्द्र छम्पी प्रस्ताव गरिएको छ । 
 
त्यस्तै महालक्ष्मी र गोदावरी मिलाएर महागोदावरी नगरपालिका बनाउन प्रस्ताव गरिएको छ । १८ वटा वडा रहने प्रस्तावित नगरपालिकाको केन्द्र सिद्धिपुरमा रहनेछ । जिल्लाले ललितपुर उपमहानगरपालिकालाई महानगरपालिका प्रस्ताव गरेको छ । 
 
‘पहिले गाविसका वडा छुट्याइएर पठाइएको भए पनि पछिल्लो प्रस्तावमा कुनै पनि गाविस टुक्राइएको छैन’ सूचना शाखामा कार्यरत सावित्री बजगाईंले भने । रासस