मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विभिन्न दुर्घटनामा आठ जनाको मृत्यु, छ घाइते

विभिन्न दुर्घटनामा आठ जनाको मृत्यु, छ घाइते


जुम्ला । कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप अपराह्न कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा पाण्डवगुफा–८ का दलसिंह भण्डारी र ९ का तिलक काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार छजना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ । घटनास्थल सदरमुकामबाट ६० किलोमिटर टाढा भएकाले घाइतेहरुलाई सदरमुकाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ । 
 
यसैबीच, तनहुँको जामुने गाविस–७ धएरेमा आज अपराह्न टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 
पोखराबाट दमौली आउँदै गरेको ग १ प ८७४३ नंको मोटरसाइकललाई दमौलीबाट पोखरा जाँदै गरेको टिपरले ठक्कर दिँदा मनपाङ–१ का ढालबहादुर शाही र एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ घटनापछि अहिले पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्ड अवरुद्ध छ ।
 
यसैगरी चट्याङ लागेर आज झुर्किया र वारङ्गीमा दुई जनाको मृत्यु भएको छ । झुर्किया–३ स्थित साधुटोलमा आज अपराह्न परेको चट्याङ लागेर स्थानीयवासी ६१ वर्षीय डोमनलाल साह र वारङ्गी–३ कटेरीकी २० वर्षीया कमला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
यस्तै, पर्साको कौवावनकटैया गाविसमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । गाविस–१ निवासी २६ वर्षीय अलिहसन अन्सारीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको धारामा जडान गरिएकोे विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागी गम्भीर बिरामी भएका अन्सारीको उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 
करेन्ट लागि गम्भीर बिरामी भएका अन्सारीलाई प्रहरी भ्यानमा राखी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीले उपचारको लागि उपक्षेत्रीय अस्पताल पु¥याएपछि उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिए । 
 
यसैबीच, त्रियुगा नगरपालिका–६ खैजनपुरमा आज दिउँसो ३ बजे वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 
 
मृत्यु हुनेमा खैजनपुर–६ का बुचन चौधरी रहेको प्रहरीले जनाएको छ । खैजनपुर खोलानजिकै गाईवस्तु चराइरहेको चौधरीलाई चट्याङ लागेको थियो । चट्याङ लागेर चौधरीसँगै रहेका खैजनपुरका लखन चौधरी र तिलन चौधरी गम्भीर घाइते भएका छन् ।