चितवन । नेपाल पछिल्लो समय मानव बेचबिखनको हिसावले उच्च जोखिममा रहेको सरोकारवालाहरुले बताएका छन् ।
नेपालमा मानव बेचबिखनको अवस्था र रोकथाम विषयमा जगतपुरस्थित वाइल्ड लाइफ रिर्सोटमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै सम्बद्ध संस्थाहरुले समयमै ध्यान नपुगेमा नेपाल मानव बेचबिखनको विश्वमै नम्बर एक राष्ट्र बन्ने चेतावनी दिएका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चितवन अदालतका न्यायाधीश टेकनारायण कुँवरले कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मानव बेचबिखनका घटना बढ्दै गएको बताए ।
पीडित पक्ष, साक्षी, अनुसन्धान गर्ने निकाय प्रहरी, सरकारी वकिल र अदालतबीच समन्वय नहुँदासम्म यस्ता मुद्दा समाजमा बढिरहने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै केआई नेपालका संस्थापक रमेश सापकोटाले बढ्दो मानव बेचबिखनको घटना न्यूनीकरणमा एकजुट नभए नेपाल कुनै पनि बेला उच्च जोखिममा पर्ने बताए । साथै उनले देश प्राकृतिक तथा राजनैतिक संक्रमणमा रहँदा बेचबिखनका घटना बढ्ने गरेको बताए ।
छलफल कार्यक्रममा महिला तथा बालबालिका मन्त्रालय, विभिन्न जिल्लाका महिला तथा बालबालिका कार्यालयका प्रमुख, प्रहरी, वकिलहरुको सहभागिता रहेको छ ।
केही वर्षअघि गरिएको एक अनुसन्धानले नेपालमा वार्षिक १२ हजारको हाराहारीमा नेपाली महिलाहरु भारतमा बेचिने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । केआई नेपाल र चेली नेपालको आयोजनामा कार्यक्रम भएको हो ।
प्रतिक्रिया