मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार व्यावसायिक बन्नुपर्नेमा मन्त्री थापाको जोड

पत्रकार व्यावसायिक बन्नुपर्नेमा मन्त्री थापाको जोड


चितवन  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले पत्रकारका संस्था सक्षम भए आमपत्रकार सक्षम बन्न सहयोग पुग्ने बताएका छन् । 
 
नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको निर्माणाधीन भवनको शुक्रबार अवलोकन गर्दै उनले पत्रकार व्यावसायिक बन्नुपर्नेमा जोड दिए । 
 
मन्त्री थापाले पत्रकारिता क्षेत्रबाट पत्रकार बाँच्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारी तवरबाट हुनसक्ने सहयोगका लागि सरकार सकारात्मक बन्नुपर्ने पनि बताए । 
 
देशमा नै पहिलोपटक नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नै भवन बनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले देशका अन्य शाखालाई पनि प्रेरणा मिल्ने बताए । 
 
जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठ, आर्थिक सहयोग गर्ने दाता र निर्माणमा जुट्ने पत्रकारप्रति मन्त्री थापाले आभार व्यक्त गरे । 
 
सोही क्रममा भेटघाट रेस्टुराँका सञ्चालक गोविन्दप्रसाद तिवारीले भवन निर्माणका लागि मन्त्री थापामार्फत नेपाल प्रेस युनियनलाई रु एक लाख पाँच हजारको चेक हस्तान्तरण गरे । 
 
सो अवसरमा युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले भवनका बारेमा जानकारी गराएका थिए । 
 
वरिष्ठ समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर उपमहानगरपालिका–११ बसेनीमा प्रदान गरेकोे १३ धुर जग्गामा निर्माणधीन भवन अब करिब तीन महिनामा सम्पन्न हुने युनियनका जिल्ला उपाध्यक्ष पूर्ण शर्माले जानकारी दिए । भवन निर्माणका लागि आवश्यकपर्ने रु ३८ लाखमध्ये अहिलेसम्म रु २९ लाख सङ्कलन भइसकेको छ ।
 
सो अवसरमा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठ र भवन निर्माण सहयोग समितिका संयोजक प्रमोदकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।