चितवन । छोरा कृष्ण अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै आएकी गंगामाया अधिकारीसँग बकपत्र गरिएको छ । वीर अस्पतालमा पुगेर चितवन जिल्ला अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले अधिकारीसँग छोरा कृष्णको हत्याको विषयमा बकपत्र गरेका हुन् ।
बकपत्रका लागि २ घण्टा ३० मिनेट लागेको थियो । बिहान ११ बजेबाट लिइएको बकपत्र दिनको १ बजेर ३० मिनेटमा सम्पन्न भएको श्रेष्तेदार पन्तले जानकारी दिए ।
स्रोतका अनुसार आरोप लागेकाहरुले नै हत्या गरेको भनी गंगामायाले बयान दिएकी छन् । छोराको हत्यारालाई कारबाही होस् भन्ने चाहना आमा गंगामायाको छ ।
चितवन जिल्ला अदालतको गत भदौ २६ गतेको आदेशले छोराको हत्यारालाई कारबाही माग गर्दै अस्पतालमा अनसनरत कृष्ण अधिकारीकी आमा गंगामाया अधिकारीसँग बकपत्र लिन भनेको थियो । त्यसको केही दिनपछि मात्र गंगामायाले लामो समयपछि अनसन तोडेकी थिइन् ।
न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भएअनुसार चितवन अदालतका एक जना अधिकृतले अस्पतालमा पुगेर घटनाबारे बकपत्र लिएका हुन् ।
२०६१ साल जेठ २४ गते गोरखा फुजेल घर भएका कृष्ण अधिकारीको चितवन जयमंगलामा अभिभावक भेट्न आउने क्रममा सुराकको आधारमा तत्कालीन माओवादीले पूर्वीचितवनको रत्ननगर–१, स्थित बकुलहरचोकमा गोली हानी हत्या गरेको आरोप छ ।
छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै आमा गंगामाया र बाबु नन्दप्रसाद अनसनमा थिए । अनसनमै रहँदा बाबु नन्दप्रसाद अधिकारीको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।
आरोपित पक्राउ परेनन्
गोरखा जिल्ला फुजेल गाविस–७ का १८ वर्षीय कृष्णप्रसाद अधिकारी हत्या आरोपितमध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिए पनि उनी हालसम्म पक्राउ परेका छैनन् ।
सर्वोच्चले आदेश गरेको अवधि ९ महिना नाघिसकेको छ । चितवन जिल्ला अदालतलाई परिपत्र गरी सर्वोच्च अदालतले कारबाही प्रक्रिया अघि बढाउन भनेको थियो ।
सो व्यहोराको परिपत्र पुस ०७२ पुस ९ गते आइपुगेको थियो । तत्कालै अभियुक्त पौडेललाई पक्राउ गर्न चितवन जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र लेखे पनि उनी हालसम्म पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी वसन्त कुँवरले बताए ।
पौडेलको गोरखा फुजेलको घर र चितवन जयमंगलाको घरमा नियमितजसो खोजतलासी गरे पनि हालसम्म पक्राउ गर्न नसिकएको एसपी कुँवरले बताए ।
अधिकारी हत्या प्रकरणमा मुछिएका १३ जना आरोपितमध्ये छविलालको हकमा भने चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाको आदेश उल्टाउँदै सर्वोच्चले गत पुस ६ गते यस्तो आदेश गरेको हो ।
छोराको हत्या छविलाल पौडेलबाटै भएको भनी कृष्णप्रसाद अधिकारीका आमा गंगामाया अधिकारीको आरोप छ । अर्का आरोपित रुद्र आचार्य बेलायतमा लुकेर रहेको बताइएको छ ।
प्रतिक्रिया