मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृषि विश्वविद्यालयमा तालाबन्दी गर्न होडबाजी

कृषि विश्वविद्यालयमा तालाबन्दी गर्न होडबाजी


चितवन । चितवनमा मुख्य कार्यालय रहेको कृषि तथा वन विश्व विद्यालयका बारेमा राम्रोभन्दा नराम्रो समाचार धेरै सुनिन्छ । अहिले पनि त्यस्तै अवस्था छ त्यहाँको । 
 
विश्व विद्यालयमा न पढाइ भएको छ, न परीक्षा । अन्य प्रशासनिक काम पनि ठप्प छ । विश्व विद्यालयको केन्द्रीय कार्यालय जाँदा ढोकाभरि विज्ञप्ति टाँसेको र एकपछि अर्को ताला लगाएको देखिन्छ । 
 
विश्व विद्यालयको केन्द्रीय कार्यालय लक्षित गरेर एक–दुई होइन पाँचवटा संगठनले आन्दोलन सुरु गरेका छन् । अर्थात् आन्दोलन र तालाबन्दीका लागि हानाथाप छ त्यहाँ । विश्व विद्यालयको चितवन रामपुरमा रहेको केन्द्रीय कार्यालयमा तीनवटा संगठनले ताला नै लगाएका छन् । भदौ २५ गतेदेखि पढाइ र अरु सबै गतिविधि ठप्प भएको छ ।
 
साउन २५ मा काँग्रेसनिकटको प्रजातन्त्रवादी कर्मचारी संघ र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन नेपाल नामका संगठनले छुट्टाछुट्टै रुपमा आन्दोलन सुरु गरेका थिए । अहिले करार कर्मचारी, शिक्षक, विद्यार्थी संगठन र अन्य विद्यार्थीले पनि आन्दोलन गरेका छन् । प्रजातन्त्रवादी कर्मचारी संघले विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालय बन्द गरेको जनाएको छ ।
 
राष्ट्रिय कर्मचारी संगठन नेपालले केन्द्रीय कार्यालयमा अनिश्चितकालीन ताला लगाएको विज्ञप्ति टाँसेको छ । करारका शिक्षकहरुले भदौ १४ गतेदेखि समस्या समाधान नहुने बेलासम्म भन्दै तालाबन्दी गरेको जानकारी पत्र केन्द्रीय कार्यालयको ढोकामा टासेका छन् । तीन अखिल र नेविसंघले संयुक्त रुपमा विज्ञप्ति निकालेर विद्यार्थी भ्रमणको बजेट चित्त बुझ्दो नभएको भन्दै भदौ २५ मा आन्दोलन सुरु गरेका छन् ।
 
विद्यार्थी संगठनहरुले विश्व विद्यालयका सवै कार्यालयका गतिविधि ठप्प पार्नुका साथै पदाधिकारीका गाडीहरु पनि कार्यालय परिसरमा छिर्न रोक लगाएका छन् । त्यस्तै पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य संकायअन्तर्गतको तेस्रो सत्रको परीक्षा फेरि हुनुपर्ने माग राखेर सो सत्रका विद्यार्थीले पनि शैक्षिक, प्रशासनिक र परीक्षाका सबै कार्यक्रम ठप्प पार्ने घोषणा भदौ २४ गतेको विज्ञप्तिमार्फत गरेका छन् । 
 
विश्व विद्यालयको नवनिर्मित केन्द्रीय कार्यालयमा अहिले तीनवटा ताला लागेको छ । ढोकाभरि प्रेस विज्ञप्ति टाँसिएको छ । पढाइ रोकिनुका साथै हुँदै गरेका र हुने मिति तोकिएका परीक्षाहरु स्थगित भएको परीक्षा नियन्त्रक जगतलाल यादवले बताए । भदौ २८ गतेबाट सुरु हुने स्नातक तेस्रो वर्षका परीक्षाहरु स्थगित भएका छन् । चाँडोभन्दा चाँडो समस्या सुल्झाएर परीक्षा र पढाइ सुरु गराउन विद्यार्थीको माग रहेको छ । 
 
त्रिभुवन विश्व विद्यालयसँग सम्पति हस्तान्तरण र नयाँ भर्नाको समस्या झेलेको कृषि विश्व विद्यालय आन्तरिक समस्यामा पनि फस्दा राम्रो सन्देश नजाने विद्यार्थीको मत छ । ‘सिनेटको बैठक भर्खर सकिएको छ । समस्याका बारेमा वार्ता गरेर हामी चाँडै पठनपाठन परीक्षा र अन्य कार्यक्रमहरु सुरु गराउने तयारीमा नै छौं’ कृषि तथा वन विश्व विद्यालयका उपकुलपति आईपी ढकालले भने । 
भ्रमण जाने विश्व विद्यालयका विद्यार्थीले दैनिक भत्ता दुई सयबाट बढाएर चार सय रुपैयाँ कायम गर्नुपर्ने माग राखेका छन् । कर्मचारी र शिक्षकहरुले बढुवा र सेवा सुविधा नभएको गुनासो पोखेका छन् । त्यस्तै, पशु विज्ञान तथा मत्स्य संकायमा विषय गाभेर लिएको परीक्षा रद्द गरेर फेरि नयाँ परीक्षा हुनुपर्ने माग विद्यार्थीको छ ।
 
पशु चिकित्सा, पशु विज्ञान तथा मत्स्य विज्ञान संकायअन्तर्गत भदौ १२ मा भएको जेनेटिक एण्ड एनिमल ब्रिडिङको तेस्रो सेमेस्टरको परीक्षा जेनेटिकको नभएर एनिमल ब्रिडिङको मात्रै लिनुपर्ने केही विद्यार्थीको माग छ । कृषि तथा वन विश्वविद्यालय विसं. २०६७ सालमा ऐन बनेर विसं. २०६९ सालमा सञ्चालनमा आए पनि विभिन्न खाले विवाद आउने र शिक्षणसमेत प्रभावित हुँदे आएको छ ।