मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री भारत प्रस्थान

प्रधानमन्त्री भारत प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चारदिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । 
 
उनका साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल, भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक पनि प्रस्थान गरेका छन् । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत तीनवटै सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए । 
 
सो अवसरमा उनलाई सांसद तथा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले पनि बिदाइ गर्नुभएको थियो । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री दाहालको सम्मानमा सम्मान गारथ अर्पण गरेको थियो ।  
 
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्ने छन् । प्रधानमन्त्री दाहालले भोलि शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्ने कार्यक्रम छ ।  
 
सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन् । राष्ट्रपति भवनमा भोलि नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।
 
शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्नेे कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्कनेछन् ।