मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१०० मा डायल गर्दै हुनुहुन्छ ? होसियार !

१०० मा डायल गर्दै हुनुहुन्छ ? होसियार !


काठमाडौँ । तपाईं १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने  हुनुहुन्छ ? गर्नुहुन्छ भने सचेत हुनुहोला । तपाई पक्राउ पर्न सक्नुहुन्छ । 
 
प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ । 
 
सो नम्बरको गलत प्रयोग नहोस् भनेर अहिले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा फोन रेकर्डिङ गर्न थालिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक प्रताप सिंह थापाले जानकारी दिए । अब त्यस्तो फोन आए उनीहरुलाई पक्राउ गर्नेदेखि आवश्यक कारबाहीसमेत गरिने प्रहरीले जनाएको छ । 
 
लामो समय गफिँदा टेलिफोन लाइन व्यस्त हुने र कतिपय बेला दुर्घटना भएको खबर दिनसमेत पीडितले लामो समय कुर्नुपर्ने अवस्था हुन्थ्यो । प्रहरीलाई गोली चलेको, सडक दुर्घटना भएको भनी गलत सूचना दिने तर प्रहरी त्यस स्थानमा जाँदा केही नभेटिने समस्यासमेत अब रोकिने प्रहरीले विश्वास लिएको छ । 
 
विशेषतः साँझपख १०० मा डायल गरेर पुरुषले महिला प्रहरीसँग गफिने, महिलाले पुरुष प्रहरीसँग गफिने र घन्टौ कुराकानी गर्नजस्ता प्रवृत्ति बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न रेकर्डिङ सुरु गरिएको हो । रेकर्डिङ हुन थालेपछि पछिल्लो समय १०० नम्बरको दुरुपयोग उल्लेख्य रुपमा घटेको आयुक्त थापाले जानकारी दिए । 
 
घटनापछिको संवेदनशील अवस्थाका कारण पीडितले सानो स्वरमा बोल्ने, उसले बोलेको नबुझिने, नम्बर, सङ्केत टिप्न नभ्याइने, र फोन गर्नेसँग दोहोरो संवाद हुन नसकेको अवस्थामा समेत रेकर्डिङ सुनेर पीडितको उद्धार गर्न अहिलेको पद्धतिले सहयोग गरेको आयुक्त थापाको भनाइ छ । उपत्यकामा १०० मा डायल गर्दा एकै पटक १६ जनाको फोन लिन मिल्ने व्यवस्था मिलाइएको छ ।