मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साउदी पुगेका नवलपरासीका दुई नेपालीको मृत्यु

साउदी पुगेका नवलपरासीका दुई नेपालीको मृत्यु


नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । 
 
साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । 
 
दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ । 
 
त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । 
 
यसैबीच, वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन् । नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन् । सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिए । उनका अनुसार कतारमा कम्पनीले काम नदिएर फर्किएकाहरूले केश दर्ता गराएका छन् ।
 
त्यस्तै यो हप्तामात्रै यसरी वैदेशिक रोजगारीबारे सेवा लिन सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीमा १५ महिलासहित ९७ जना आएको केन्द्रकी परामर्शदाता विनु रानाले जानकारी दिए । 
 
सो क्रममा तीनवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिए । उनका अनुसार दुईवटा जेल र एउटा भनेको काम र दाम नपाएको केश दर्ता गराएका छन् । केन्द्रमा पुग्नेलाई वैदेशिक रोजगारीको यात्रालाई सुरक्षित बनाउने विषयमा जानकारी गराउने गरिएको छ । रासस