काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन भएको बताएका छन् ।
नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको सोमबार उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । उनले भने, ‘तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ ।’
तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले काँग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताए । उनले भने, ‘प्रजातन्त्रविरोधी शक्ति सल्बलाइरहेको यो समयमा तरुण दलको देशप्रति ठूलो जिम्मेवारी छ ।’
तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए ।
उनले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरे पनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पारे । नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृसंस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए ।
तरुण दल काठमाडौँका अध्यक्ष गोकर्ण केसी, सांसद भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, दीपक कुँइकेल, राज्यलक्ष्मी श्रेष्ठ, काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजाल, तरुण नेत्री जीवन डङ्गोल, लक्ष्मी खतिवडा, नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले पार्टीका भ्रातृसंस्थाको पदाधिकारीमा काठमाडौँको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । रासस
प्रतिक्रिया