मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु


इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । 
 
इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा एम्बुलेन्स चालक सिरहा गोलबजार–१ निवासी २७ वर्षीय आनन्द श्रेष्ठ र बिरामी सिरहा–१० का ३० वर्षीय सरोज यादवको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सन्तोष यादव, शिवगणेश यादव, सञ्जित यादव, पपु यादवलगायतका चारजना गम्भीर घाइते भएका छन् । 
 
घाइतेको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । 
 
खोलामा डुबेर दुईजना बेपत्ता 
सुनसरी खोलमा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
डुबेर बेपत्ता हुनेमा सुनसरी नरसिंह–१ बस्ने मिश्रलाल मण्डलको ८ वर्षीय छोरा मनित मण्डल र ६ वर्षीया छोरी बबिता मण्डल रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । बेपत्ताको खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । रासस