मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आज बाबुको मुख हेर्ने पर्व पितालाई सम्मान गरी मनाइँदै

आज बाबुको मुख हेर्ने पर्व पितालाई सम्मान गरी मनाइँदै


काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व बिहीबार देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।
 
दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइँदैछ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
 
गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुराली तर्फका तीन÷तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । बिहीबार गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ ।
 
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
 
कुशे औँसी
भाद्र कृष्ण औँसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्न आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको अध्यक्ष गौतमले बताए ।
 
हिन्दूहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घरघरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ ।
 
मोती जयन्ती
आजै राष्ट्रिय विभूति, नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक मोतीराम भट्टको १५० औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
 
विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । 
 
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।