मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक गुरु काजी बाको सुझाव

प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक गुरु काजी बाको सुझाव


चितवन । नेकपा (माओवादी केन्द्र) का पार्टी केन्द्रीय सल्लाहकार एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरू खम्बासिंह कुँवर ‘काजी बा’ले अनुभवबाट सही बाटो समात्न प्रचण्डलाई सुझाव दिएका छन् ।
 
आफ्नो नाममा रहेको सबै सम्पत्ति पार्टीमा समर्पित गरी सर्वहारा जीवन बिताइरहेका ९० वर्षीय खम्बासिंह माओवादी केन्द्रका भरपर्दो राजनीतिक खम्बा मानिन्छन् । उनले प्रचण्ड मुलुकको ३९ औँ प्रधानमन्त्री भएपछि देशको मुहार केही हदसम्म फेरिने विश्वाससमेत व्यक्त गरे ।
 
पार्टीकै भरणपोषणमा भरतपुर–१० स्थित भाडाको घरमा रहँदै आएका खम्बासिंहलाई भेट्न मंगलबार उनको कोठामा पुग्दा उनी जीवनको उत्तरार्धमा पनि उत्तिकै सक्रिय र फूर्तिला देखिन्थे ।
 
कुराकानीमै उनले नेपालमा दुईवटा ऐतिहासिक र दुर्लभ परिवर्तनको उदाहरण दिए । एक: विश्वका कुनै पनि मुलुकमा संसदबाट राजा फालेको इतिहास छैन । जुन कुरा नेपालमा सम्भव भएको छ । राजसंस्था फाल्ने माओवादीकै एजेन्डामा सात राजनीतिक पार्टी सहमत भएपछि संसदबाट राजा फालियो, यो दुर्लभ इतिहास हो । दुई : संसदवादी दलसँग मिलेर सरकार निर्माण पनि विश्वकै दुर्लभ इतिहास हो । अझ जनयुद्ध गरेर आएको पार्टी र जनयुद्धमा रहँदा टाउकाको मूल्य तोक्ने संसदवादी दल कांग्रेससँग गठबन्धन सरकार, जो आफैंमा दुर्लभ हो ।
 
यी दुई उदाहरण दिँदै खम्बासिंह भन्छन्, ‘अनुभव बटुल्न र सबैको विश्वास जितेर अघि बढ्न आवश्यक छ । माक्सवाद कुनै धर्मशास्त्र होइन, यो एउटा व्यवहारिक ज्ञान हो । अनुभवबाट र समयक्रमसँगै सिक्दै जानुपर्छ त्यसमा प्रचण्ड खप्पिस हुनुहुन्छ । उहाँमा विज्ञान, कला, आँट र धैर्य गर्नसक्ने क्षमता छ । उहाँले जनताको हितका लागि काम गर्न सक्नुभयो भने उहाँ अवश्य सफल हुनुहुनेछ ।’
 
पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्ड असफल भएकोमा खम्बासिंह सहमत छन् । उनी भन्छन्, ‘जनविद्रोह गरेर आएको पार्टीले सेना र हतियार बुझाउनु पहिलो कमजोरी रह्यो । पहिला अनुभव भएन । त्यसैले सीमा, सन्धि, सेना, पशुपति, राष्ट्रपतिलगायत सबै क्षेत्रमा असफलतामात्र हात लाग्यो । अब कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।
 
प्रचण्ड प्रधानमन्त्री भएपछि भरतपुरको चौबीसकोठीमा दीप–प्रज्ज्वलनमा समेत सहभागी भएका खम्बासिंहले प्रचण्डले नगरी नहुने प्रमुख कामबारे सल्लाह दिएका छन् । १० वर्षको क्रान्तिका क्रममा लागेका मुद्दा–मामिलाको फछ्र्यौट गरिहाल्न उनले प्रचण्डलाई सुझाव दिएका छन् । यस्तै मधेसी, थारु, मुस्लिमलगायत जनजातिका समस्या समाधान गरी यथाशीघ्र संविधान कार्यान्वयन गराउन उनको सुझाव छ । यो पार्टीकै समस्या भएकाले यसको समाधान नगरी कुनै पनि राजनीतिक उपलब्धि हासिल हुन नसक्ने निचोड उनको छ ।
 
बिजुली उत्पादनलगायत राष्ट्रिय योजनाका लागि संभावनाको खोजी गरी दीर्घकालीन योजना बनाएर काम गर्न उनले सुझाव दिए । विभिन्न खानीहरुबारे अध्ययन अनुसन्धान गरेर उत्खनन् गर्नसके देशको परनिर्भरता कम हुने र दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न सकिने उनको धारणा छ ।
 
‘यस्ता विकासका गतिविधि गर्न सक्ने हो भने देशकै हित हुन्छ । अहिले देश नै वृद्धाश्रमजस्तो हुन लागिसक्यो । जहाँ गयो वृद्धवृद्धामात्रै । युवालाई स्वदेशमै केही गर्नसक्ने संभावना रहेमात्रै युवा पलायन रोक्न सकिन्छ । यसका लागि कलकारखाना र उत्पादन बढाउनुपर्छ यसमा प्रचण्डले ध्यान दिनैपर्छ’ काजी बाले भने ।
 
काजी बाले प्रचण्डलाई भेटेरै सुझाव दिन चाहेका छन् । तर फूर्तिलोजस्तो देखिए पनि उनी मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायतका रोगबाट पीडित छन् । उनकी ८८ वर्षीया श्रीमती पनि यस्तै समस्याबाट पीडित छन् । उनीहरुलाई नातिनीबुहारी सुधाले स्याहार गर्छिन् । खम्बासिंहलाई चितवन आएका बेला प्रचण्डलगायतका नेताहरुले भेटघाट गर्छन् । कसरी अघि बढ्ने सुझाव लिने गर्दछन् । दुई महिनाअघि पार्टी एकीकरण गरी माओवादी केन्द्र बन्दा पनि उनीसँग सल्लाह सुझाव लिइएको उनी बताउँछन् ।
 
माओवादी फुट्दै जाने प्रसङ्गमा उनी भन्छन्, ‘प्रगतिशील शक्तिहरु एकजुट हुने हो भने विद्रोह गरे पनि चुनाव लडे पनि सफल हुन सकिन्छ । विडम्बना ! नेपालमा ६५ प्रतिशत प्रगतिशील पक्षधर भए पनि फुटेर कमजोर भइरहेका छन् । आआफ्ना कमीकमजोरीलाई आत्मसात गरेर एकजुट हुनुपर्छ ।’
 
कांग्रेस–माओवादी केन्द्रको अपवित्र गठबन्धनको आरोपबारे उनले माओको भनाइ जोड्दै भने, ‘जसले बढी गल्ती गर्छ, त्यसले राम्रो काम पनि गर्न सक्छ । देश र जनताको लागि भलाइ हुने काम गर्ने हो भने जो जससँग गठबन्धन गरे पनि फरक पर्दैन । हेर्नुहोस् : म वामपन्थी, मेरा घरबेटी सुवास न्यौपाने कांग्रेस । उहाँकी श्रीमती एमाले । हाम्रो सम्बन्ध राम्रो छ । सिद्धान्त फरक होला तर मन र विचार मिल्छ । यस्तै वर्तमान सरकार पनि यस्तै हो ।’