मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक महिनादेखि बेपत्ता भएका गाविस सचिव घरमै भेटिए

एक महिनादेखि बेपत्ता भएका गाविस सचिव घरमै भेटिए


पाँचथर । जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् ।
 
३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदासमेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो ।
 
खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरमा फेला पारेको जनाएको छ । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गरेका थिए ।
 
आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई दिएको छ । सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टीकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताए ।
 
सचिव निरौला साउन ६ गतेदेखि सम्पर्कविहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो ।
 
यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करिब रु तीन लाख अनियमितता गरेर झन्डै तीन महिना सम्पर्कविहीन भएका थिए । निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन । रासस

शेयर गर्नुहोस:

0
Shares