नवलपरासी । नवलपरासीको चोरमारा अरुणखोलाबीच जंगलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मुत्यु भएको छ । मृतक दुवैको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक शिव शर्मा आचार्यका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका–२ निवासी ३५ वर्षीय दीपक चौधरी र सोही स्थानका ३५ वर्षीय पञ्चराम कुमालको घटनास्थलमै ज्यान गएको हो । मृतकका आफन्तहरु आएर मृतकको पहिचान गरेको आचार्यले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुवैजनाको ज्यान गएको हो ।
कार र कार चालक इलाका प्रहरी कार्यालय नयाँ बेलहानीको नियन्त्रणमा रहेको छ । प्रहरीले शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा लगिएको छ ।
त्यस्तै नवलपरासीको चोरमारा डण्डाबीच जंगलमा पर्ने ४० किलोमिटरमा अर्को दुर्घटना हंँदा ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका लु १ ख ९२ ४४ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेका लु १ च २२८० नम्बरको कारलाई शुक्रबार दिउँसो ठक्कर दिँदा ११ जना घाइते भएका हुन् ।
बसमा सवार ९ जना र कारमा सवार २ जना गरी ११ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको भरतपुरमा उपचारका लागि पठाइएको छ ।
प्रतिक्रिया