भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले आफ्नो कार्यकालमा सुकुम्वासी नेपालीलाई जग्गाधनी पुर्जा वितरण गर्ने बताएका छन् ।
शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उनले अदालतमा विचाराधीन अवस्थामा रहेको सुकुमबासी समस्या समाधान आयोगको मुद्दा सल्टाएर सुकुमबासी समस्या समाधान गर्ने बताए ।
मन्त्री पाण्डेले राजनीतिकभन्दा पनि कानुनी उपचारको प्रक्रियाबाट सुकुम्वासी समस्या समाधान आयोग गठन गर्ने जानकारी दिए । नेपालमा बसेर जग्गाधनी प्रमाण पुर्जा नपाएका सुकुमबासी नेपालीलाई लालपुर्जा दिलाउने प्रतिबद्धता उनले व्यक्त गरे । जनताको शक्तिलाई साथ लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीको समस्या समाधान गर्ने उनले बताए ।
फरक प्रसङ्गमा उनले नारायणी र राप्ती नदीको कटान नियन्त्रण तथा सडक निर्माणको काम युद्धस्तरमा अगाडि बढिरहेको बताए । नारायणी र राप्ती नदीको तटमा सडक निर्माण गरी नदीको कटान नियन्त्रण तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने आफ्नो सोच रहेको उनले बताए ।
कृषिप्रधान मुलुक नेपालमा कृषि उपजको उत्पादन गर्दै नेपालीलाई आत्मनिर्भर बनाउन सकिने उनले बताए । तीन दिनदेखि गृहजिल्लामा पाण्डे विभिन्न कार्यक्रममा व्यस्त छन् ।
प्रतिक्रिया