मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निकुञ्ज कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद

निकुञ्ज कर्मचारी हत्या गर्ने तीन जनालाई ३४ वर्ष कैद


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी शेषचन्द्र चौधरीको हत्यामा संलग्न भएका तीन जनालाई जिल्ला अदालत चितवनले ३४ वर्ष कैद सजायको फैसला गरेको छ । 
 
निकुञ्जका कर्मचारी शेषचन्द्रलाई निकुञ्जभित्रै २०७१ असोज ९ गते गोलीहानी हत्या गरिएको थियो । न्यायाधीश वासुदेव पौडेलको इजलासले कर्तव्य ज्यान मुद्दा लागेका माडी अयोध्यापुरीस्थित बाँदरझुला– ९ का २७ वर्षीय जीवन प्रजा, १७ वर्षीय गिराज प्रजा र ३५ वर्षीय मानबहादुर प्रजालाई हिजो यस्तो सजाय सुनाएको हो । 
 
अदालतका सूचना अधिकारी कृष्ण बरालका अनुसार उनीहरुविरुद्ध कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग, डाँका र अवैध हतियार ओसारपसारअन्तर्गत मुद्दा चलेको थियो ।
 
कर्तव्य ज्यान मुद्दामा प्रत्येकलाई २० वर्ष अर्थात् जन्मकैद, ज्यान मार्ने उद्योग अन्तर्गत जनही पाँच वर्ष कैद, डाँका मुद्दामा ६ वर्ष कैद र अवैध हतियारअन्तर्गत तीन वर्ष कैद गरी प्रत्येकलाई कुल ३४ वर्ष कैद सजाय भएको सूचना अधिकारी बरालले जानकारी दिए । 
 
घटनामा संलग्न भनिएका ६ जनामध्ये बाँकी तीन जनाले अस्वीकार गरेका थिए । कर्तव्य ज्यान मुद्दा लागेका आरोपित २०७१ साल कात्तिक १ गते बाँदरझुलाबाटै पक्राउ परेका थिए । 
 
उक्त घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) नै खटिएको थियो । रत्ननगर– १ सौराहाचोक निवासी चौधरी निकुञ्जको सिनियर गेम स्काउट थिए ।