मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसङ्घ महाधिवेशनः फेरि पनि प्रतिनिधि विवाद

नेविसङ्घ महाधिवेशनः फेरि पनि प्रतिनिधि विवाद


काठमाडौँ । महाधिवेशन प्रतिनिधि विवादका कारण एकसाता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ । 
 
शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएका छन् । 
 
अध्यक्षका सात उम्मेदवारले आइतबार पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा ३०० नक्कली प्रतिनिधि थपेर मतदाता नामावली सार्वजनिक गरेको जनाई सच्याउन माग गरेका छन् । 
 
सङ्घको निर्वाचन गर्न नेपाली काँग्रेसले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको छ । 
 
अध्यक्षका दाबेदार मनोजमणि आचार्यले निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भनी आक्रोश व्यक्त गरे । उनले ६४ जिल्लाको सूची पूर्ववत् अवस्थामा नै राखेर निर्वाचन प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वसँग माग गरेका छन् ।  
 
अध्यक्षका अर्का दाबेदार क्षितिज भण्डारीले ‘पार्टी नेतृत्वले प्रहरीको घेरामा नेविसङ्घ कब्जा गर्ने शैलीमा गर्ने निर्वाचन’ मान्य नहुने बताए । नेता दीपक भट्टराईले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहे पनि गैरमतदाता भएको नामावली नसच्याएसम्म महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी दिए । 
 
नेता नीलकण्ठ रिजालले पार्टी नेतृत्वको शैलीले आन्तरिक प्रजातन्त्र कस्तो छ भन्ने छर्लङ्ग भएको बताउँदै वास्तविक मतदाताको नामावली काटिएकामा विरोध जनाए । त्यस्तै विनिता अधिकारी, आनन्दराज त्रिपाठी र पदमराज पन्तले पार्टी कार्यालयमा प्रहरीको घेरामा निर्वाचन हुन नहुनेमा जोड दिँदै फर्जी मतदाताविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए । 
 
निर्देशन समिति सदस्यद्वय भट्टराई र घिमिरेले आइतबार संयुक्त विज्ञप्तिमार्फत शनिबार राति सार्वजनिक अन्तिम नामावलीमा विगतको सहमति विपरीत हेरफेर गरिएकाले विवादित बन्न पुगेको स्विकारेका छन् । उनीहरुले समितिमा भएको सहमति र निर्णयअनुरुप विवादित नामावली सच्याएरमात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरेका छन् ।  
 
समितिले आइतबार बिहान ९ बजेदेखि मतदाता परिचयपत्रलगायत सामग्री पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनबाट वितरण गर्ने तयारी गरेको थियो । समितिले शनिबार राति तीन हजार ७६० मतदाता नामावलीको सूची सार्वजनिक गरेको थियो । 
 
सोहीबमोजिम समितिले निर्वाचन तालिका सार्वजनिक गरे पनि अब भने विद्यार्थी नेताहरुले धर्ना दिने जनाएका छन् । रासस 

शेयर गर्नुहोस:

0
Shares