मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्युठानका बाढी–पहिरोपीडित भन्छन्– हामीलाई गास होइन बास चाहियो

प्युठानका बाढी–पहिरोपीडित भन्छन्– हामीलाई गास होइन बास चाहियो


प्युठान । प्युठानका बाढीपहिरोपीडितले गासभन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुस्किल भएकोले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानाकर्षण गराएका छन् । उनीहरुले भनेका छन्, ‘गाउँघरमा साउने मकै छन् । खानालाई कुनै समस्या छैन । तर बास भत्किएर बसिनसक्नु भएको छ । सहयोग गर्ने हो भने बासको प्रबन्ध गरिदेऊ ।’
 
साउन १० र ११ गते परेको मुसलधारे पानीको कारण गएको बाढीपहिरोले घरबारविहीन भएका पुजा गाविस–७ का टुकलाल शर्माले भने हामीलाई राज्यले तत्काल बासको व्यवस्था गरिदेओस् । शर्माको तालेघरमा रहेको दुईतल्ले ढुंगे घर अहिले पहिरोको कारण धरापमा परेको छ । घर भत्किन थालेपछि छिमेकी सिम्लेमा शरण लिएर बसेका उनले भने ‘मेरो त घर नै गयो । भोक मेटाउन बारीका मकै कोपरे पनि हुन्छ तर शिर ओत्ने तत्काल एउटा छानो भए हुन्थ्योे ।’
 
शर्माजस्तै पुजा गाविसकै वसन्ती के।सी, निमु गिरी, सुमा गिरीको पनि घर भत्किँदा उनीहरु स्थानीय शिशु कल्याण प्राविमा साना लालाबालासहित ओत लागेर बसिरहेका छन् । निमानन्द शर्मा, मोहन घर्ती, हिते घर्तीसहित पुजामा मात्रै ९ घर बस्नै नहुने गरी चर्र्किनुका साथै भासिएको छ । उनीहरु भन्छन्– ‘वर्षात्को समयमा खाना त जसोतसो हुन्छ बरु त्रिपाल, टिन पाए छाप्रो हालेर बस्न हुन्थ्यो ।’ घर चर्किएर बस्नै नहुने भएका बाटुलपाटाका खेमराज उपाध्यायले भने ‘समस्यै समस्या छ । अब छिट्टै त्रिपाल र टिनको व्यवस्था गरे हुन्थ्यो ।’
 
साउन १० र ११ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोले खोरपाता टोल अहिले जोखिममा छ । सो टोलको पश्चिमतर्फको भाग चिरैचिरा परेको छ । तल खानीखोलाबाट निस्केको पहिरो पुजाको गाविस भवन जोड्ने कच्ची मोटरबाटोलाई काट्दै उक्त टोलका टेकुलाल शर्मा, देवीराम शर्मा, भानुभक्त शर्मा, चन्द्रप्रसाद शर्मा, देवीराम शर्मा (साहु जेठा)का घरको सुरसम्म पुगेको छ । पहिरोका चिरा घर–गोठसम्म परेपछि उक्त टोलका बासिन्दा अहिले न घर छाडेर अन्यत्र जान सकेका छन्, न त घरभित्र ढुक्कसाथ बस्न सकेका छन् ।
 
घर नभत्किएका कारण उनीहरु राहत पाउने सूचीमा समेत परेका छैनन् । बाढीपहिरोपीडितलाई दिनहुँ विभिन्न संघसंस्थाले राहत वितरण गर्ने गरिरहेका छन् तर उनीहरु त्यो सूचीमा पर्दैनन् । उनीहरुको घर पहिरोमाथि भए पनि भत्के–ढलेको छैन ।
 
यस संवाददाताले बाढीपहिरोग्रस्त क्षेत्रमै गएर स्थलगत रिर्पोट तयार पार्ने क्रममा उनीहरु भन्दै थिए– ‘भएभरको सम्पत्ति बाढी र पहिरोले खाइदियो अब हामी कहाँ जाने के गर्ने रु राज्यको निकाय पनि अझैसम्म आएको छैन, सोधपुछ गरेको छैन ।’ टेकुलाल शर्माको खेतबारी र खरेन गरेर १६ रोपनी बाढी र पहिरोले क्षति बनाइदिएको छ । देवीराम शर्माको ४ रोपनी, चन्द्रप्रसाद शर्माको १३ रोपनी बारी पनि पहिरोले तानेको छ  । 
 
शर्माहरुको जस्तै स्थानीय झिमरुक नदीको बाढीले पुजा–७ कुरिलाचौरमा रहेको देवीराम शर्माको ३ रोपनी, टीकाबहादुर केसीको ४ रोपनी, महेन्द्राकुमारी खत्रीको १५ रोपनी धान रोपेको खेत अहिले बगरमा परिणत भएको छ । रोषबहादुर खत्री, बेगबहादुर खत्री र महेन्द्र केसीको ओढारबाङ्गको खेत खोलामा मिसिएको छ । लालबहादुर केसी, टोपबहादुर केसी, बेगमलाल शर्मा, विष्णुबहादुर केसी, बालाराम शर्मा, रामप्रसाद शर्मालगायत धेरैको खेत खरेन पनि पहिरोले पुरिदिएको छ । 
 
यी त प्रतिनिधिमात्रै हुन् । पुजा गाविसमा यस्ता करिब ९० घरपरिवारको खेतबारी र खरेन पहिरो र बाढीले ध्वस्त बनाइदिएको छ । उनीहरुको कुनै निकायले अहिलेसम्म सोधीखोजी नगरेकोप्रति उनीहरु दुःखी छन् । राज्यका नियमक निकाय बाढीपहिरोमा परी मृत्यु भएका परिवारप्रति मात्रै केन्द्रित भएको तर जिउँदालाई बचाउन खासै योजनाबद्ध काम नगरेकोप्रति स्थानीयहरु रुष्ट देखिएका छन् ।
 
यता जिल्ला प्रशासन कार्यालयले प्युठानमा राहत लिएर जाने संघसंस्थामाथि खासै नियमन गर्न सकेको छैन । यसैहप्ता काठमाडौँबाट आएको एक संस्थाले सालीबिसौनामा बाँडेको राहतमा पुराना कपडाहरु परेको र ती कपडाहरु केही व्यक्तिले फड्के सालिबिसौनाको जंगलमा लगेर फालिदिएकोसमेत देखियो । यसैगरी राहतमा चामल दाल लिएर जाने संस्थाले पनि राजनीति बढी गर्ने गरेको देखियो । जुन पार्टी निकटको मान्छेले लिएर जान्छे उसले भोटका लागि बाँडेकोजस्तो पनि हुने गरेको एक राजनीतिक दलका नेताले जनाए । प्रशासनले जङ्क फूड वितरणमा भने रोक लगाएको छ । 
 
बाढीपहिरोपीडितहरुको यथार्थता हेर्दा राहत दिन वा लैजान खोज्ने संघसंस्थाले प्युठानमा जति सकिन्छ त्यति नै घर बनाउन ध्यान दिएमा त्यो सबैभन्दा उत्तम हुने पत्रकार महासंघ प्युठानका सभापति गीरुप्रसाद भण्डारीले सुझाव दिएका छन् ।