महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको जलेश्वर बर्दिबास सडखण्डमा बिहीबार जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको ज६प ३७०४ नंं को डिस्कभर मोटरसाइकलले पदैल यात्री देवीयादेवी मण्डललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते मण्डललाई स्थानीय जनकल्याण मेडिकल रामगोपालपुरमा लगी प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
घटनापश्चात् ज६प ३७०४ नंंको मोटरसाइकल र चालकलाई पक्राउ गरी जिप्रका महोत्तरीको हिरासतमा राखी घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । यता मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ ।
यसैबीच, बुटवलमा बिहीबार राति कालिकानगरमा भाडामा परिवारसँग बस्दै आएकी कमला न्यौपानेको रहस्यमय तरिकाले हत्या भएको छ ।
तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा न्यौपानेको परिवार सात वर्षदेखि बस्दै आएको थियो ।
मृतकका पति बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएको तथा कमला ढुकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले जानकारी दिए । उनका पति काठमाडौँ सामान लिन भएको र दुई सन्तान काठमाडौँमा बसी अध्ययन गर्दै आएकाले घरमा उनीमात्र एक्लै भएको मौका छोपेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया