काठमाडौँ । गोर्खा जिल्लाको सिर्दिवास–८ फिलिमबाट सुत्केरीको उद्धार गरी काठमाडौँ उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक क्याप्टेनसहित सवार सबै ७ जनाको मृत्यु भएको छ ।
नुवाकोट मदनपुर–९ बेतिनीस्थित चुच्चे भीरमा सोमबार दिउँसो १२ः४० बजे नाइन एन एकेए कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा ५ दिनको नाबालक, एक सुत्केरीसहित एकै परिवारका चारजनाको मृत्यु भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।
दुर्घटनामा चालक क्याप्टेन रञ्जन लिम्बु, स्टाफ नर्स निशा तामाङ, हेलिकप्टरमा नर्ससँगै गएकी लक्ष्मी गुरूङ, गोर्खा सिर्दिवासका कितमान गुरुङ, उनकी श्रीमती आसामी, १९ वर्षीया सुत्केरी प्रीति गुरुङ र उनको ५ दिनको नवजात शिशु छोराको समेत ज्यान गएको गृहमन्त्रालयले जनाएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले पनि सात जनाको मृत्यु भएको पुष्टि गर्दै लाशहरु चिन्न नसक्ने अवस्थामा रहेको बताए । घटना भएलगत्तै प्रजिअ पोख्रेलसहित नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
दिउँसो १२ः१० मा उडेको हेलिकप्टर १२ः३२ मिनेटमा सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएलगत्तै हेलिकप्टरको खोजी गरिएको थियो । हेलिकप्टर डाँडामा ठोक्किएपछि आगोको मुस्लो देखेको प्रत्यक्षदर्शीले बताएका छन् । बादलभित्र छिरेपछि निस्कने क्रममा हेलिकप्टर डाँडामा ठोक्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रत्यक्षदर्शी स्थानीय गोविन्दप्रसाद ढकालले हेलिकप्टर अस्वाभाविक तरिकाले आकाशमा हल्लिएको र केहीबेरमै भीरमा ठोक्किएर ठूलो आवाज आएको बताए । घटनास्थल राजधानी काठमाडौँ र नुवाकोट सदरमुकाम विदुरको मध्येभागमा पर्छ घटनास्थल राजधानी काठमाडौँ र नुवाकोट सदरमुकाम विदुरको मध्येभागमा पर्छ । तस्बिरमा : हेलिकप्टर दुर्घटना भएको स्थानमा उडिरहेको धुँवा ।
प्रतिक्रिया