मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटधाममा स्नान गर्ने व्रतालुको भीड

देवघाटधाममा स्नान गर्ने व्रतालुको भीड


देवघाट । पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा साउन महिनाको चौथो सोमबार बिहानैदेखि भक्तजनको भीड देखिएको छ । पहेंलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन मेला भर्न आएका छन् ।
 
वर्षकी पवित्र महिनाको पनि आज सोमबार पवित्र दिन भएकाले शिवको पूजा आराधना गरे पुण्य मिल्ने विश्वासमा भक्तजन आएका हुन् । रत्ननगरबाट मेला भर्न पुगेका रामकृष्ण शर्माले मनको विश्वासका लागि देवघाट नुहाउन आएको बताए । उनले मनोकामना पूरा हुने विश्वाससमेत व्यक्त गरे ।  
 
तीनवटा सोमबार गरेर झन्डै एक लाख दर्शनार्थीले मेला भरेका छन् । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले साउन महिनाभरि बोलओम महोत्सव नै आयोजना गरेको छ । आइतबार साँझदेखि नै यहाँ आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका भक्तजन सोमबार स्नान गरी शिवलाई गङ्गाजल र बेलपत्र चढाएर फर्कने गर्दछन् । 
 
चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ । योपटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तीय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिएको र एक हजार आठ शिवमन्त्रद्वारा होम चलिरहेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।
 
चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोर्खा, धादिङ, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । यस्तै भारबाट समेत खाली खुट्टामा मेला भर्न आउँछन् । हरेक सोमबार ३० देखि ३५ हजार भक्तजन देवघाटमा स्नानका लागि आउने अपेक्षा देवघाट क्षेत्र विकास समितिले गरेको छ । 
 
महोत्सव आयोजक समितिले धार्मिक पर्यटक आकर्षित गर्न ३० फिट अग्लो शिवको मूर्ति स्थापना गर्न काम थालेको देवघाट क्षेत्र विकास समितिका पूर्व सदस्य टङ्कनाथ पौडेलले जानकारी दिए ।
यसैबीच, चितवनको रत्ननगर, माडी, पर्सा, भण्डारा, भरतपुरको महाकालेश्वर मन्दिरलगायत शिवालयमा बिहानैदेखि पूजा गर्ने भक्तजनको भीड देखिएको छ । रासस