मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन अध्यक्षका आकांक्षीहरुको माग

नेविसङ्घको मनोनीत कार्यसमिति नबनाउन अध्यक्षका आकांक्षीहरुको माग


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको अध्यक्षका १४ जना आकाङ्क्षीले निर्वाचनमा प्रतिस्पर्धा गर्न दिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आज आइतबारदेखि हुन लागेको सङ्घको ११औँ महाधिवेशनमा निर्वाचन नभई पार्टीले नयाँ कार्यसमितिको नामावली घोषणा गरेमा आफूहरूलाई मान्य नहुने उनीहरूले उद्घोष गरेका हुन् । 
 
यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्षका आकाङ्क्षी मनोजमणि आचार्यले आफूले हारे पनि निर्वाचन हुनुपर्नेमा जोड दिए । नैनसिंह महरले नेविसङ्घ काँग्रेसका नेता उत्पादन गर्ने नर्सरी भएकाले निर्वाचनमा भिड्ने अवसर दिन नेताहरूसँग आग्रह गरे । दीपक भट्टराईले काँग्रेसका नेताले नेविसङ्घ चलाउन खोजेमा विद्यार्थीले पार्टी चलाउने चेतावनी दिए । 
 
आनन्दराज त्रिपाठीले निर्वाचन लड्न नदिई मनोनयन गर्ने प्रवृत्तिको विरोध गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरे । क्षितिज भण्डारीले काँग्रेसका नेताहरूले मनोनीत समिति बनाएमा आफूसहितका अधिकांश कार्यकर्तालाई अमान्य हुने स्पष्ट पारे । नीलकण्ठ रिजालले नेविसङ्घको महाधिवेशन यसपटक पनि नभएमा नेविसङ्घको अस्तित्व रहन नसक्ने टिप्पणी गरे । 
 
कुन्दनराज काफ्लेले नेविसङ्घको पुरानो गौरवशाली प्रतिष्ठालाई पुर्नजीवित गर्न विधिसम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिए । विनिता अधिकारीले मनोनीत कार्यसमिति बनाउने सोच नराख्न नेताहरूलाई खबरदारी गर्नुपर्ने बताइन् । शुभराम बस्नेतले विगतमा आफूले पाएका सबै जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले निर्वाचनमार्फत सङ्घको नेतृत्व लिन चाहेको तर्क गरे । 
 
रामप्रसाद अधिकारीले विद्यार्थी आन्दोलनमा निरन्तर खटिएकाले आफूलाई विद्यार्थीले छनोट गर्ने विश्वास व्यक्त गरे । लक्ष्मण आचार्यले आफू नेताहरूको नजिक भएर पनि कहिल्यै कुनै पदमा मनोनीत हुन नचाही निर्वाचनमार्फत नेतृत्व लिन चाहेको बताए । सरोज थापाले इमान्दारिता र नैतिकताको राजनीतिका लागि आफू उम्मेदवार हुन लागेको जानकारी दिए । 
 
पदमराज पन्तले नक्कली प्रतिनिधिहरू खारेज गरी सक्कली प्रतिनिधिमार्फत सक्कली नेतृत्व छान्ने वातावरण बनाउन निर्देशक समितिलाई आग्रह गरे । रत्न कार्कीले लहडमा नलागी विवेक पु¥याएर नेतृत्व छान्न महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरे ।
 
सङ्घको आइतबारदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने ११औँ महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने भएकाले चुनावी सरगर्मी निकै बढेको छ । देशभरबाट महाधिवेशन प्रतिनिधिको काठमाडौँ आउनेक्रम चलिरहेको छ । रासस