नेपाल

तीन सन्तानसहित बेपत्ता श्रीमती मृत फेला, श्रीमान् पक्राउ

तीन सन्तानसहित बेपत्ता श्रीमती मृत फेला, श्रीमान् पक्राउ


बैतडी । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ । 
 
गएको शनिबारदेखि बेपत्ता गोमादेवी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् । गोमादेवी श्रीमान्सँग झगडा गरी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । ‘मृतकका श्रीमान् जयमल बोहरालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ’ प्रहरी नायब उपरीक्षक चन्दले भने– ‘मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।’ 
 
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ र परीक्षणपछि थप कुरा थाहा हुनेछ । बेपत्ता तीन छोराछोरीको स्थानीय सङ्घार खोलामा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । रासस