मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्रीको नामावली चयन गरिने

सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्रीको नामावली चयन गरिने


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा बिहीबार बसेको (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले बिहीबारैै अपराह्न १ बजे काँग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गरेको हो । 
 
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारका सहयात्री दलसँगको छलफलपछि मात्रै मन्त्रीको अन्तिम नाम चयन गरिने जानकारी दिइन् । तर उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा भने कृष्णबहादुर महरालाई पठाउने अनौपचारिक निर्णय भएको जनाइएको छ । 
 
यसैबीच, नेपालका लागि भारतका राजदूत रञ्जित रायले बिहीबारै प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास लाजिम्पाटमा बिहीबार बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए । 
 
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । 
 
नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली खछ्याङ तथा चिनियाँ जनताको तर्फबाट बधाई दिएका थिए । प्रधानमन्त्री दाहाललाई विभिन्न राजनीतिक दल, कूटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिनेक्रम जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । 
 
शपथ ग्रहणपछि प्रधानमन्त्री लैनचौर जाने
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि सहिद स्मृति स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ । 
 
अध्यक्ष दाहालको सचिवालयका अनुसार उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ । 
 
यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद तथा बेपत्ता योद्धाको स्मृतिमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण गर्नेछन् । सहिद तथा बेपत्ता योद्धाको सम्मानमा माल्यार्पण गरेपछि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर उनले पद भार ग्रहण गर्ने कार्यक्रम छ ।