मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको पहिलो आक्रोश : “संविधान संशोधन मानिँदैन”

एमालेको पहिलो आक्रोश : “संविधान संशोधन मानिँदैन”


काठमाडौँ । सत्तारोहणबाट बाहिरिएलगत्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् । 
 
व्यवस्थापिका–संसद्को बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गरे । 
 
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच आज संविधान संशोधनलगायत तीनबुँदे सहमति भई प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गरेपछि एमालेले तिक्तता पोखेको हो । 
 
नेता रावलले प्रश्न गरे, ‘केका लागि संविधान संशोधन गर्ने हो, त्यो स्पष्ट हुनुप¥यो नि ?’ यो मुलुकलाई जातीय वा एक मधेस एक प्रदेशका आधारमा जाने हो भने त्यो हामीलाई मान्य छैन । जनताको स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न हुने गरी सत्ताको खेलका लागि यस्ता प्रस्ताव आएको उनको भनाइ थियो । 
 
उनले सेना र गुप्तचर निकायमा समेत समावेशीकरण हुने मुलुक नेपाल मात्र रहेको उल्लेख गर्दै नागरिकताका सवालमा पनि भारतमा भन्दा उदार व्यवस्था रहेकाले ती विषयमा पनि संविधान उपर्युक्त भएको बताए ।
 
भारतले हेपाहा प्रवृत्ति देखायो
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले भारतले नेपालमाथि  हेपाहा प्रवृत्ति देखाउँदै आएको बताएका छन् । सप्तरीको तिलाठी घटनामा प्रतिरोध गर्ने देवनारायण यादव र दुर्गानारायण झाको सम्मानमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूहरुले दुई पक्षबीच सहमति गर्ने प्रयास गरे पनि भारतले हरेक तहले हेप्ने गरेको बताए । 
 
‘हाम्रो राष्ट्रियता भारतविरोधी होइन,तर हामीलाई हेपिन्छ भने त्यो कदापी सहिदैँन,’ उनले भने– ‘एक थोपा रगत भएसम्म हामी नेपालको एक इन्च क्षेत्रफल गुम्न र झुपडी भारतलाई दिदँनौ ।’ 
 
कार्यक्रममा युवा सङ्घका अध्यक्ष राजीव पहारीले तिलाठी घटना वैदेशिक हस्तक्षेप भएको भन्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका विरुद्ध राष्ट्रवादी आन्दोलन गर्नु आवश्यक रहेको बताए । सचिव ज्ञवालीले तिलाठीका घाइतेद्वय यादव र झालाई धोती र टोपीले अभिनन्दन गरेका थिए ।