मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जलेश्वर कारागार कार्यालय शौचालयविहीन

जलेश्वर कारागार कार्यालय शौचालयविहीन


महोत्तरी । महोत्तरी र धनुषा जिल्लाका संयुक्त जेल रहेको जलेश्वर कारागार कार्यालय शौचालयविहीन रहेको रहस्योद्घाटन भएको छ ।
 
जलेश्वर कारागारभित्र रहेका ३८० कैदीबन्दीका लागि शौचालय रहे पनि सो कारागारको दैनिक क्रियाकलाप सञ्चालन गर्ने प्रशासन अर्थात् कार्यालयमा शौचालय नरहेको जेलर शोभेन्द्र ठाकुरले बताए ।
 
दुई महिलासहित १५ जना कर्मचारी रहेको सो कार्यालयमा शौचालय नहुँदा त्यहाँका कर्मचारी छेउमै रहेको जिल्ला अदालत र कारागार कार्यालय बाहिर रहेको सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएका छन् ।
 
त्यस्तै, कारागार सुरक्षाका लागि मधेस आन्दोलनकै बेलादेखि त्यहाँ खटिएका ५० जना नेपाली सेना र सात जना नेपाल प्रहरी जवानलाई पनि शौचालयको अभावमा बाहिरै गएर दिसापिसाब गर्नुपरेको देखिएको छ ।
 
कारागार कार्यालयमा शौचालय नरहेको बारे कार्यालय प्रमुख ठाकुरले पटकपटक विभागमा भनिएको तर बजेट अभावका कारण भन्दै रकम प्राप्त नहुँदा आफ्नै शौचालय निर्माण गर्न नसकिएको र आफूहरू लाजै पचाएर पनि अरु कार्यालयको तथा सार्वजनिक शौचालय प्रयोग गर्न बाध्य भएको बताए । 
 
यसका अलावा कारागारभित्र पनि कैदीबन्दीको सङ्ख्याअनुसार पर्याप्त शौचालय, चापाकल, धारा नरहेको कारागार कार्यालय महोत्तरीका प्रशासन शाखा प्रमुख मकसुधन महासेठले बताए । रासस