मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन : प्रधानमन्त्री ओली

छिमेकीले नेपालमाथि स्वार्थ लाद्न हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौँ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बतएका छन् । मदन भण्डारी फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै मुलुक नेपालमा धर्म्निरपेक्ष होस् भन्ने चाहने र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको बताए ।
 
उनले भने– ‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’ कामचलाउ प्रधानमन्त्री ओलीले मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दै भने– ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’
 
संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोज्ने तथा कहिलेकाहीँ काँधमाथि चढ्न खोजेर नेपालीको स्वाभीमानमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।
 
‘हस्तक्षेपको विरोधमा नबोल्नु कूटनीति होइन, कूटनीतिभन्दा माथि नेपालको स्वाभिमान पहिलो हो । सार्वभौम मुलुकको हौसियत कायम गर्नु प्रमुख विषय हो ।’ प्रधानमन्त्री ओलीले थपे– ‘एक स्वतन्त्र राष्ट्रका हैसियतले हामी दुनियाँका सबै मित्रराष्ट्रसँग आँखा जुधाएर कुरा गर्न सक्छौँ । त्यही हैसियतामा मैले भारत र चीन भ्रमणका समयमा नेपालको हितमा सम्झौता गरेको छु । नयाँ सरकारले त्यसबाट पछि फर्कन मिल्दैन । जनताको असाधारण चेतनाले अबका सरकारलाई स्वच्छन्द हुन दिँदैन ।’
 
उनले ‘कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो’ स्थिति नेपाली राजनीतिमा देखिएको भन्दै यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैँमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक छैन भने । प्रधानमन्त्री ओलीले नेपालीको नयाँ सरकार सचेत जनताको निगरानीमा रहने जनाउँदै भने– ‘त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।’
 
कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकको स्वाभिमान र राष्ट्रिय एकताका लागि सबै दल र शक्ति एक ठाउँमा उभिनुपर्ने बताए । उनले नेपालले आफ्नो अस्तित्व आफैँले रक्षा गर्न आफ्नो सन्तुलित परराष्ट्र नीतिको पक्षमा उभिनुपर्नेमा जोड दिए ।
 
नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गरे । उनले वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको विचार राखे ।
 
नेकपा (माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देवले राष्ट्रियताको परिभाषा सबैका लागि एउटै हुने टिप्पणी गरे । कार्यक्रमको दोस्रो सत्रमा विभिन्न परराष्ट्र विज्ञबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । रासस