नेपाल

दक्षिण चितवनको माडीमा बाढीले माडीमा ४६ घर डुबान

दक्षिण चितवनको माडीमा बाढीले माडीमा ४६ घर डुबान


माडी, चितवन । दक्षिण चितवनको माडीमा बाढीले करिब ४६ घर डुबानमा पारेको छ । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले बस्ती डुबानमा पारेको हो ।
 
माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए । 
 
पानीको सतह ३.४ मिटर भए चेतावनीको तह मानिन्छ । ३.८ मिटर बाढीको तह पुगेमा खतराको सङ्केतमा साइरन बज्छ तर अहिले बाढी खतराको तह नाघेर ३.९ पुगेको र बढ्दो क्रममा रहेको लुइँटेलले जानकारी दिए । उनका अनुसार अहिले बाढीले यहाँको रतनीमा ६ घर, धोबाहमा २० घर र सिमरामा २० घर डुबानमा पारेको हो । 
 
केही घर बगाएको भन्ने जानकारी आएकाले सो क्षेत्रमा अहिले स्थानीय विपद् व्यवस्थापनको टोली खटाएको लुइँटेलले जानकारी दिए । बाढीले जिल्लामै सबैभन्दा बढी प्रभावित पार्ने स्थानको रुपमा माडीलाई लिइन्छ । यहाँका घागर, मगुइ, बाँदरमुढे, चिताइ, रतनीलगायत खहरे खोलाले जनजीवन प्रभावित पारेको छ । 
 
रतनी र बाँदरमुढे खोलाले माडीको ब्रम्ह्पुरी क्षेत्रका बस्तीमा समेत असर गरेको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिए । रासस