मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वर्षाले शिविरमा बस्दै आएका भूकम्पपीडितको बिचल्ली

वर्षाले शिविरमा बस्दै आएका भूकम्पपीडितको बिचल्ली


भक्तपुर । भक्तपुर नगरपालिका–५ याछेंका घर भूकम्पले भत्काएपछि देकोचास्थित शिविरमा बस्दै आएका पञ्चनारायण सितिखुको परिवार लगातारको झरीले बिचल्लीमा परेका छन् ।
 
लगातार पानी परेपछि सितिखुको परिवार जस्तै भक्तपुर नगरपालिका वडा नं ४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका २५० भन्दा बढी परिवार बस्दै आएका  देकोचास्थित शिविरका पीडितको दैनिकी निकै कठिनसँग बितेको छ । 
 
भक्तपुर नगरपालिका–९ चोछेँ घरभई भक्तपुरको व्यासीस्थित शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पनि पानी पर्नेबित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ । भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि त्रिपालमुनी बास बस्दै आएको नापितको परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५२ परिवारको अवस्था पनि उस्तै छ । 
 
भूकम्पपछि शिविरमा बाँडिएको त्रिपालमा आश्रय लिँदै आएका यहाँका भूकम्पपीडित त्रिपालबाट पानी चुहिने भएपछि रातभरी सुत्नसमेत पाउँदैनन् । नापित भन्छन्, ‘यही त्रिपालमा बसेको १४ महिना बितिसक्यो, चुहिएर पानी थेग्नै सक्दैन, फेरि माथिबाट आउने पानीको भेल पसेपछि झन् समस्या परेको छ ।’
 
त्यस्तै, अर्का पीडित कल्पना नापितको गुनासो पनि उस्तै छ । उनी भन्छिन्, ‘पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान जोगाउँनै मुस्किल हुन्छ, सुत्ने र खानेसमेत ठेगान भएन बालबच्चाको समेत बिचल्ली भयो ।’
 
वृद्धवृद्धा, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइँ निकै कष्टकर बनेको छ । बाहिर कोठा नपाउने, महँगो भाडा तिर्न नसक्ने र आफ्नै जग्गामा टहरा हाल्न नसक्ने सकस सहेरै शिविरमा बस्दै आएका छन् । 
 
सोही शिविरकी मङ्गललक्ष्मी शाही घर बनाउन सक्ने अवस्था नहुँदा पानी चुहिने त्रिपालभित्र ओत लाग्नु परेको बताउँछिन् । शिविरभित्र भेल पसेर सधैँ ओछ्यान पानीले भिज्ने गरेको उनको गुनासो छ । 
 
जिल्ला प्रशासन कार्यालयका अनुसार भक्तपुर नगरपालिकाको व्यासी, देकोचा, कमलविनायक, च्यामासिंह, जगाती, बाराहीलगायत क्षेत्रमा रहेका तीन हजार परिवार भूकम्पपीडित अझै पनि शिविर मै आश्रय लिँदै आइरहेका छन् । रासस

शेयर गर्नुहोस:

0
Shares