मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढी पहिरोमा प्यूठानमा ३८ सहित देशभर ८५ जनाको मृत्यु

बाढी पहिरोमा प्यूठानमा ३८ सहित देशभर ८५ जनाको मृत्यु


-हिमालय खबर संवाददाता
काठमाडौँ । करिब दुईसाता अघिदेखि देशभर परेको अविरल वर्षाका कारण चारदिन यता प्राकृतिक प्रकोप (बाढी र पहिरो) मा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । यस विपदमा अझैसम्म बेपत्ता हुनेको संख्या २० जनाभन्दा बढी  छ । गृह मन्त्रालयका अनुसार बुधबार बेलुकीसम्म मृतक संख्या ६६ पुगेको पुष्टि गरेको छ । तर विभिन्न सञ्चारमाध्यम तथा जिल्ला संवाददाताहरुका अनुसार यो संख्या अझै बढी छ । 
 
पश्चिम प्युठानमा सबैभन्दा धेरै मानवीय क्षति हुन पुगेको छ । प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाउँमा ३८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरोमा परी बुधबार राति नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।
 
अविरल वर्षासँगै आएको पहिरोमा परी उनकी श्रीमती विन्दुसँगै ज्यान गुमाएका केसी मङ्गलबार दिनभर पहिरो पीडितको उद्धारमा खटिएको स्थानीयले बताएका छन् । पहिरोमा परी अहिलेसम्म सबैभन्दा धेरै फोप्लीमा मानवीय क्षति भएको छ । फोप्ली गाविसको ३, ४ र ६ वडामा मात्रै १४ जनासहित गाविसभर २४ को मृत्यु भएको छ । फोप्ली–६ मा बुधबार गएको पहिरोमा सात जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा मनिराम पुन, तेजे पुन, खोपली पुन, नेपुुल घर्ती, सेतु पुन, सेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतिमा पुन, नन्दी पुन, खस्ती पुन, मने पुन, प्रकृति पुन, सागर पुन, सेमली पुन, नोखी बैजाली र छमी पुन छन् ।
 
थप १५ जनाको शव सनाखत भएको प्रहरीले जनाएको छ । अझै ६ जना बेपत्ता रहेको प्रहरी दाबी छ । मृत्यु हुनेमा फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुन, फोप्ली–४ मा एक बालिका र एक बालकको ज्यान गए पनि उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
 
त्यस्तै, फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी र पवित्रा केसीको मृत्यु भएको छ । घर पहिरोमा परी फोप्ली–३ मा  मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ । त्यस्तै फोप्ली–६ मा हरिबहादुर केसी, उनकी श्रीमती विन्दु केसी, जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको मृत्य भएको प्रहरीले जनाएको छ । 
 
जिल्लाको उत्तरी क्षेत्र अर्खामा भएको घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्खा–६ का ५२ वर्षीय देवबहादुर बुढा, हिमाल बुढा र जवुना बुढा रहेका छन् । त्यस्तै माजकोट गाविसकी जाली पुन र एक पुरुष तथा एक महिलाको पहिचान हुन सकेको छैन । त्यस्ते खवाङ–७ मा दिलमाया केसी, ३ मा दविले सुनार र सोही ठाँउकै डिके सुनारको मृत्यु भएको छ । 
 
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पुजा–१ मा सुपारी मल्ल र छोरा मुकेश मल्लको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । त्यस्तै लुङ–६ मा शिबबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै लुङमा रञ्जना केसी र  शुसीला केसीको पुरिएर मृत्यु भएको छ ।
 
बेपत्ता हुनेमा फोप्ली–३ का चेतमान पुन, उनको छोरी (नाम खुल्न सकेको छैन), चेतुना पुन, चेतुना पुनको छोरा र छोरी अझै बेपत्ता छन् । त्यस्तै मानवहादुर पुन, पहिचान नभएको उनको आमा पनि बेपत्ता भएका छन् । त्यस्तै लुङ–३ मा शोभा रिजाल, काली परियार, किरण थापा, खवाङ–३ का कुटुरी सुनार बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
 
त्यसैगरी मृत्यु हुनेमा फोप्ली ३ का आठ महिने बालिका नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन,  चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, त्यस्तै फोप्ली– ४ का सेमली पुन र छमी पुन रहेका छन् ।  जिल्लामा अधिकांश ठाउँमा उद्धारका लागि जिल्लामा स्रोत र साधनको अभाव तथा सडक अवरुद्ध हुँदा उद्धारकार्यमा समेत ढिलाइ भएको छ । प्रभावित क्षेत्रमा पानी, खाद्यान्न र बसोबासको समेत समस्या भएको छ । 
 
उता प्यूठानमा हालसम्मकै विपत्ति आएको भन्दै पूर्व गृहमन्त्री वामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, सांसदहरु दुर्गा पौडेल, हिराबहादुर केसी, धनबहादुर रायमाझी, पुनाराम थापा र पूर्व सांसद मुक्ति शर्मासहितको टोलीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित रक्षा र गृह मन्त्रीको ध्यानाकर्षण गराएका छन् । जिल्लामा तत्काल राहत तथा उद्धारमा ध्यान दिन भन्दै आफूहरुले केन्द्रको ध्यानाकर्षण गराएको डा पोख्रेलले जानकारी दिए ।
 
पहिरोले यति ठूलो मानवीय क्षति भएकोमा प्यूठानका स्थानीय शोकाकुल बनेका छन् । गाउँमाथिबाट भर्खरै खनिएको ग्रामीण सडकले पहिरो गएको हुनसक्ने स्थानीय शिवराज सुवेदीले बताए । नेपाल रेडक्रस सोसाइटी, प्युठानका आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले फोप्ली गाविस पहिरोको उच्च जोखिमयुक्त रहेको बताए । अन्य वडामा सयौँ घर जोखिममा छन् । अर्खा गाविसमा भने जंगलछेउको गोठमा बस्दै आएका एकै परिवारका तीन जनाले पहिरोमा परी ज्यान गुमाएका छन् । मुत्यु हुनेमा अर्खा–६, का देवबहादुर बुढा, हिमाल बुढा र जमुना बुढा छन् । सुतिरहेको अवस्थामा पुरिएका उनीहरूको दुई दिनपछि शव भेटिएको थियो ।
 
लुङ–६ मा माथिबाट खसेको पहिरोमा चार जना पुरिएका छन् । शिवबहादुर परियारको शव भेटिए पनि अन्य तीन बेपत्ता छन् । बस्तीमाथिबाट अझै ढुंगा झर्नेक्रम जारी रहेको जनाइएको छ । पूजा गाविसमा माइत आएका आमाछोराले ज्यान गुमाएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार रजवाराकी सुपारी मल्ल र मुकेश मल्लको पहिरोले घर भत्किँदा ज्यान गएको छ। खवाङ–१  मा घर पहिरोले पुरिँदा देबे सुनार र उनका नाति दीपक सुनारको घटनास्थलमै ज्यान गएको छ । उनकी श्रीमती दोमन्ती बेपत्ता छन् ।
 
यसैबीच, राप्ती नदी किनारमा बाढीले बगाएर ल्याएका ५ शव बुधबार भेटिएका छन् । दाङ संवाददाताका अनुसार देउखुरीस्थित राप्ती नदी किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । पाँचमध्ये एउटा शवको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार पाँचमध्ये एउटा शव दाङ गंगापरस्पुुर–९, तकियापुरका ५३ वर्षका ठगिराम चौधरीको रहेको प्रहरीले जनाएको छ । 
 
कपिलवस्तुको बाणगंगा नदीमा मंगलबार आएको बाढीले चार जना बेपत्ता छन् । सोमडीह–६, बेलसापुरका ५५ वर्षीय तीर्थ पासी र सोही गाविस– ८ इटवाका ४५ वर्षीय माधे कुजडा भन्ने अहमद  हुसेन तथा निग्हिवा–२ का ५२ वर्षीय चैते रोका र कजराहा–९, सिग्राहवाका २२ वर्षीय शिव गुलामा कलवार बेपत्ता भएको प्रहरीले जनाएको छ ।
 
झापाको राजगढ–४ मा ११ वर्षीय मिलन लिम्बूको बाढीको पानीमा डुबेर मृत्यु भएको छ । गृहमन्त्रालयले थप १ को मृत्यु भएको पुष्टि गरेको छ । गृहका अनुसार बाढीपहिरोमा रोल्पामा ४, बाँके कोहलपुरमा १, पर्वतमा १, अर्घाखाँचीमा थप १ र बाग्लुङमा थप २ को मृत्यु भएको जनाएको छ ।
 
यसैबीच, सिरहाको सखुवानन्कारकट्टी–९ स्थित बलान खोलामा बुधबार साँझ लहान–४ निवासी ६७ वर्षीय मिश्रलाल साहको शव फेला परेको हो । गतमङ्गलबार बेलुका घरबाट हिँडेका साह बेपत्ता भएपछि खोजी गर्ने क्रममा बलान खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
 
यस्तै, मोरङको अमरदहमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार राति १० बजे अमरदह– ८ बस्ने ५८ वर्षीय सैनबहादुर पौडेल स्थानीय ढोकरिया बजार पूर्वपट्टि रहेको कल्भर्टमा रहेको पानीमा डुबेको अवस्थामा मृत भेटिएको  हुन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । तस्बिर: सामाजिक संजाल