काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्यरुपमा प्रभावित भएको छ ।
बन्दकर्ताले मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पु¥याएका छन् । मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन् । सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।
जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए । बन्दको प्रभाव उपत्यकामा सामान्य परे पनि कामकाजी सर्वसाधारण भने मर्कामा परेका छन् ।
ट्रकमा आगजनी, छ जना पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा सोमबार तनहुँमा ट्रकमा आगजनी भएको छ । भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।
बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरूले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुनेबित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।
यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन् । रासस
चितवनमा ट्रकमा आगजनी
रत्ननगरमा सोमबार बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करिब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनीचोकमा अज्ञात समूहले ट्रक जलाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षति पुगेको छ । चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार वीरगन्जबाट काठमाडाँै औषधि लिएर जाँदै गरेको ना५ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।
आगजनी गर्ने समूहको पहिचान नभए पनि सोमबार विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला फैलाएकाले उनीहरूले नै जलाएको अनुमान प्रहरीले गरेको छ । घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । समयमै प्रहरी पुगेकाले धेरै क्षति हुन पाएन ।
यसैबीच, बन्दको हल्लासँगै सोमबार जिल्लामा प्रहरीले बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको छ । चितवन आउने र चितवनबाट जाने सवारीलाई बिहानैदेखि स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।
बन्दबाट जनजीवन प्रभावित, दुई कार्यकर्ता पक्राउ
नेपाल बन्दका कारण आज कास्कीको जनजीवन प्रभावित भएको छ । सुकुम्वासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण बिहानैदेखि पोखरामा सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन भने शिक्षण संस्थाको पठनपाठन पनि ठप्प भएको छ ।
बन्दका कारण जरुरी काम भएर विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु हिँड्न बाध्य छन् भने बजारक्षेत्र सुनसान बनेको छ । बन्दकर्ता दुई जना कार्यकर्ता प्रकाश वास्तोला र अशोक भण्डारीलाई पोखराको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
प्रतिक्रिया