मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरीमा आएको बाढीबाट दुई हजार घर डुबान

सप्तरीमा आएको बाढीबाट दुई हजार घर डुबान


राजविराज ।  शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न खोलानालामा आएको बाढीले करिब दुई हजारभन्दा बढी घर डुबानमा परेका छन्  । 
 
खाँडो खोलामा आएको बाढीले बस्तीमा पानी पस्दा घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो बाढीले सकरपुरा, दिघवा, लौनिया, रम्पुरा मल्हनियाँ, देउरी भरुवा, झल्ही, फर्सैठ, बिसहरिया, तिलाठीलगायत अधिकांश गाविसको गाउँ बस्तीमा पानी पसेको बताइएको छ । 
 
यस्तै मोहली खोलामा आएको बाढीले पोर्ताहा, भारदह, गिद्धखोरा, बरमझिया त्रिकोल हनुमानगर कोलाडीलगायतको गाविसका हजारौँ घर डुबानमा परेको  भारदह– ६ का अशोक माझीले बताए  ।
 
सो खोलाको बाढीले भारदहमा बढी क्षति पु¥याएको छ । मोहली खोलाको बाढीले हनुमानगर योगिनीमाई नगरपालिका–२ स्थित कोसी पश्चिमी नहरका बाँधले पानी थुनिएपछि भारदह वडा ५ र  ६ का गाउँ पूरै डुबानमा परेको स्थानीयवासी उमेश माझीले जानकारी दिए । 
 
बाढी घर घरमा पसेपछि मानिसहरु डुबान क्षेत्रका विभिन्न बाँध र नहर आसपासमा बस्न बाध्य भएको बताइएको छ । त्यस्तै पोडा खोलामा आएको बाढीले ढुकुली, महदेवा, बभन्नगामा कटीसहितको गाविसका दुई सयभन्दा बढी घर डुबानमा परेको स्थानीयवासी शैलेन्द्र सिंहले जानकारी दिए ।
 
विभिन्न खोलानालामा आएको  बाढीले जिल्लाको करिब ३० हजार हेक्टर खेतीयोग्य जग्गासमेत  जलमग्न भएको बताइएको छ ।  त्यस्तै, विभिन्न ग्रामीण भेगमा रहेका दर्जनौँ माछा पोखरीमा पानी पस्दा लाखौँबराबरको माछा पानीसँगै बगेको हनुमानगर योगिनी माई नगरपालिका–२ का श्याम खड्काले बताए ।
 
यसैबीच, खाँडो खोलाबाट बाढीले बढी प्रभावित क्षेत्र सकरपुरा, रम्पुरा मल्हनियाँ र तिलाठी गाविसमा आइतबार मुरही, चिउरा र भुजिया बाँडिने प्रजिअ बलदेव गौतमले बताए । रासस